अमेरिका आइसीसीको निलम्बनमा

काठमाडौं। आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिका क्रिकेट (युएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बोर्डको भर्चुअल बैठकले यो कदम चाल्दै अमेरिकन क्रिकेटमा ‘रिसेट’ बटन दबाएको हो। तर, निलम्बनले फेब्रुअरीमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप वा २०२८ को लस एन्जेलस ओलम्पिक खेलमा अमेरिकाको सहभागितामा भने कुनै असर पार्ने छैन।
यसअघि गत जुलाईमा भएको आइसीसीको वार्षिक साधारण सभामा युएसएसीलाई तीन महिनाभित्र स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने र व्यापक सुशासन सुधार लागू गर्न चेतावनी दिइएको थियो। तर, प्रगति नदेखिएपछि मंगलबार साँझ युएसएसीलाई निलम्बन गरिएको हो। योसँगै अस्थायी रूपमा अमेरिकी राष्ट्रिय टिमको व्यवस्थापन र प्रशासन आइसीसीले नै हेर्ने भएको छ।
आइसीसीको विज्ञप्तिअनुसार युएसएसीले आफ्नो सदस्यता दायित्व बारम्बार उल्लंघन गरेको, प्रभावकारी शासन संरचना निर्माण गर्न नसकेको, अमेरिकन ओलम्पिक तथा पारा ओलम्पिक कमिटीबाट राष्ट्रिय खेल निकायको मान्यता लिन असफल भएको र अमेरिकी क्रिकेटलाई विश्वव्यापी रूपमा बदनाम हुने कार्यहरू गरेको आरोप छ।
आइसीसीले यसलाई दुर्भाग्यपूर्ण तर आवश्यक कदम भनेको छ। विज्ञप्तिमा भनिएको छ,‘हाम्रो प्राथमिकता भनेकै एथ्लिट र खेललाई असर नपर्ने सुनिश्चितता गर्नु हो। दीर्घकालीन हितलाई जोगाउन यो कदम चाल्नुपर्यो।’