खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

काठमाडौं। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला दिनमा लोकप्रिय र सार्वजनिक छवि बनाएका व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गर्ने प्रयास गरिरहेकी छन्।
केही दिनअघि मात्र उनले तिलगंगा आँखा अस्पताल पुगेर वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न प्रस्ताव गरेकी थिइन्। तर, रुइतले आफ्नो व्यस्त पेशागत जीवनलाई कारण देखाउँदै इन्कार गरेका थिए।
यस्तै अवस्थामा प्रधानमन्त्री कार्कीले खाली रहेका मन्त्रालयहरूमध्ये युवा तथा खेलकुद मन्त्रालय कसलाई दिने भन्नेबारे विभिन्न नामहरूबारे छलफल गरिरहेको चर्चा चलिरहेको छ।
त्यसक्रममा नेपाल क्रिकेट संघ (क्यान) का महासचिव तथा पूर्वकप्तान पारस खड्काको नामसमेत खेलकुद मन्त्रालयका सम्भावित मन्त्रीको सूचीमा आएको खबरले खेल क्षेत्र र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।
तर, पारस आफैं भने यसबारे धेरै स्पष्ट छन्। उनी भन्छन्, ‘सबैको गन्तव्य राजनीति हुनुपर्छ भन्ने छैन। अहिलेको प्राथमिकता भने मेरो लागि क्रिकेट र क्यानकै जिम्मेवारी हो।’
सन् २००२ देखि २०१९ सम्म नेपालको राष्ट्रिय क्रिकेट टोलीमा खेल्दै उनी देशलाई डिभिजन ५ बाट डिभिजन २ सम्म पुर्याउने मुख्य पात्र बने।
२०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दा कप्तान उनी नै थिए। २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दा पनि उनी कप्तानको भूमिकामा रहे। तर, त्यसको एक वर्षपछि उनले क्रिकेटबाट सन्न्यास लिँदै खेल व्यवस्थापनतर्फ कदम बढाएका थिए।
सन् २०२३ मा क्यानको महासचिव बनेपछि पारस अहिले व्यवस्थापन र संरचनागत सुधारमा सक्रिय छन्। उनी भन्छन्, ‘एक खेलाडी भएर व्यवस्थापनमा आउँदा धेरै कुरा सिक्दैछु। यही ठाउँबाट देशमा केही सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचले काम गरिरहेको छु। तर, मेरो लागि प्राथमिकता भने क्रिकेट नै हो।’
पारसले अब आउने खेलकुदमन्त्री जो कोही भए पनि क्रिकेट मात्र नभई सबै खेल संघलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।