एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का फुटसल निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन्।
एएफसी फुटसल कप २०२६ को छनोट प्रतियोगितामा नेपाल सहभागी नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको कारबाही र त्यसको जिम्मेवार एन्फा सचिवालयलाई ठहराउँदै उनले बिहीबार राजीनामा बुझाएका हुन्।
महर्जनले आफ्नो राजीनामा पत्रमा एन्फा सचिवालयले प्रतियोगितामा सहभागिताका लागि आवश्यक बजेट विनियोजन नगरेको कारण नेपाल प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य हुनुपरेको उल्लेख गरेका छन्।
उनले भनेका छन्,‘फुटसल विभाग प्रमुखको हैसियतमा प्रतियोगितासम्बन्धी सबै कामकारबाही समयमा नै सचिवालयमा बुझाएको हुँ। तर सचिवालयले कुनै बजेट नदिएको कारण नेपाललाई सहभागी गराउन सकिएन। यो लापरवाहीकै कारण नेपाललाई १० हजार डलर जरिबाना गरिएको छ र अर्को पटकको छनोटमा समेत भाग लिन नपाउने गरी कारबाही गरिएको छ।’
सचिवालयको गैरजिम्मेवार व्यवहारका कारण आफूलाई पदमा रहेर काम गर्न नसक्ने महसुस भएको उनले बताए। ‘यस्तो परिस्थितिमा आजकै मितिबाट लागू हुने गरी पदबाट राजीनामा दिएको छु,’ महर्जनले भनेका छन्।