काठमाडौं । नेपालका भेट्रान राइडर बिक्रम थापाले जापानको क्लव रेसिङ्गमा उपाधि हात पारेका छन् ।
नेपाली मोटरसाइकलिङ रेसिङ रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफुलाई ब्यस्त राख्दै आएका छन् ।
टोकियोनजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङ्गमा उनले उपाधि हात पारेका हुन् ।
२४ सय मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे ।
३ सय ७३ सिसिसम्मको सिङ्गल सिलिण्डर अथवा २ सय ५० सिसिको टुइन सिलिण्डर मोटरसाइकलको सो क्लव सिरिजको चौथो राउण्डमा पहिलो स्थान निकाल्न बिक्रम सफल भएका हुन् ।
नेपाली मोटरसाइकल रेसिङ्गका सुरुवाती समयमा उम्दा राइडर बिक्रम नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ्ग रेसमाण्डुमार्फत नेपाली मोटरसाइकल रेसिङ्गलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एक मुख्य पात्र समेत हुन् ।