काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पहिलो जित निकालेको छ।
हाङ जेबात रंगशाला बिहीबार सम्पन्न समूह ‘सी’ को दोस्रो खेलमा सड्युशोर एसआई–एसिया गोललाई ३-१ ले पराजित गरेको हो। योसँगै इत्तिहादले २ खेलबाट ३ अंक जोडेको छ।
पहिलो खेलमा इत्तिहाद लायन सिटीसँग २-० ले पराजित भएको थियो। एसिया गोलले भने पहिलो खेलमा केलाना युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो।
इत्तिहादको जितमा युजेनिया टेटेहले २ र सिडालिया कुटाले १ गोल गरिन्। एसिया गोलका लागि एक मात्रै गोल बाक्तिगुल टोक्तोबोलोटोभाले गरेकी हुन्।
इत्तिहादले ४७औं मिनेटमा कुटाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ५८ र ६५औं मिनेटमा टेटेहले लगातार गोल गर्दै खेल ३-० मा पुर्याइन्।
७१औं मिनेटमा बाक्तिगुलले गोल गर्दै एसिया गोललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अब इत्तिहादले समूह चरणको अन्तिम खेल आइतबार केलानासँग खेल्नेछ।