काठमाडौं। साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ।
बिहीबार सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
साउथ अस्ट्रेलियाका ओपनर निक विन्टरले सर्वाधिक ३६ रन बनाए। १९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
होगेनबुजेमले २८ बलमा समान १ चौका र छक्कासहित २८ रन बनाए। कप्तान म्याकेन्जी हार्भेले २७ रनमा आउट भए।
नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। नन्दन यादवले २ र रोहितकुमार पौडेलले १ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन बनाए ।
साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले २-२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १-१ विकेट लिए ।