बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। एसियन कप खेल्ने तयारीमा रहेको बंगलादेशी महिला फुटबल टोली अक्टोबरको फिफा विन्डोमा थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्न जाने भएको छ।
अक्टोबर २५ र २८ मा खेल दुईवटा हुने सम्भावना रहेको छ। त्यस्तै, नोभेम्बरको विन्डोमा भने ढाकामा त्रिदेशीय प्रतियोगिता आयोजना गर्ने प्रयास भइरहेको बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) महिला विभाग प्रमुख माहफुजा अख्तर किरनले जानकारी दिएकी छन्।
उनले भनिन्,‘अक्टोबर महिला फिफा विन्डोमा हामी थाइल्यान्डमा दुईवटा खेल खेल्छौं। यो पक्का भएकव छ। नोभेम्बरको विन्डोमा हामी ढाकामा त्रिदेशीय खेलको प्रयास गर्दैछौं। यसका लागि भियतनामलगायत अन्य टोलीहरूलाई पत्र पठाइसकेका छौं।’
अक्टोबरमा थाइल्यान्डमा दुई खेल खेलेपछि बंगलादेश टोली जापान जानेछ। त्यहाँ कुनै खेल नखेल्ने भए पनि करिब तीन हप्तासम्म अभ्यास क्याम्प हुनेछ। एसियन कप खेल्न अस्ट्रेलिया जाने क्रममा पनि अन्य मुलुकसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बीएफएफको छ।
किरनले भनिन्,‘जापानमा हामी कुनै खेल खेल्दैनौं, त्यहाँ केही हप्तासम्म अभ्यास मात्र हुनेछ। अक्टोबरको जस्तै नोभेम्बरको विन्डोमा पनि दुईवटा खेल खेल्नेछौं। त्यसपछि अस्ट्रेलिया जाने क्रममा सिंगापुर–हङकङ वा मलेसियामा खेल्न सक्ने सम्भावना छ। अथवा न्युजिल्याण्डसँग पनि छलफल भइरहेको छ। त्यसपछि मात्र अस्ट्रेलिया जाने योजना छ। साथै, आगामी मार्चमा थाइल्यान्डमा हुने यु–२० एसियन कपमा खेल्ने टोलीका खेलाडीहरू पनि सिनियर टोलीसँगै अभ्यास र खेलमा सहभागी हुनेछन्।’
फिफाको पछिल्लो वरीयताको अद्यावधिकमा सबैभन्दा बढी अंक जोडेको टोली बंगलादेश हो। वरीयतामा एकैपटक १०३ औं स्थानमा उक्लिए पनि प्रतिद्वन्द्वी टोली पाउन अझै कठिन भइरहेको किरनले बताइन्।
उनी भन्छिन्, ‘सत्य भन्नुपर्दा अहिले व्यक्तिगत सम्पर्ककै भरमा टोली तय भइरहेको छ। मेरो धेरै देशका अध्यक्ष, महासचिवसँग सम्बन्ध छ। उनीहरूसँग कुराकानी गरेपछि मात्र कार्यालयमार्फत औपचारिक पत्र पठाइन्छ। वरीयताको प्रभाव अझै परेका छैनन् तर पक्कैपनि अघि पर्नेछन्।’
त्यस्तै, एसियन कपलाई लक्षित गरी ‘मिसन अस्ट्रेलिया’ नाम दिइएको क्याम्प यही सेप्टेम्बर १ बाट सुरु हुने भनिए पनि पछि धकेलिएको उनले बताइन्।
किरन भन्छिन्, प्रशिक्षक पिटर सेप्टेम्बरको मध्यतिर आउँदैछन्। त्यसपछि मात्रै अस्ट्रेलियाका लागि औपचारिक तयारी सुरु हुनेछ। क्याम्प बीएफए भवनमा हुनेछैन, होटल वा अन्य स्थानमा हुन सक्छ। तर, अभ्यास भेन्यु भने बसुन्धरा किङ्स वा राष्ट्रिय स्टेडियम हुनेछ।’








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)