काठमाडौं। बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो। जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ।
नेपालको भने ४ खेलबाट ३ अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। भुटानसँग २–१ को पुनरागमन जित निकाले पनि बंगलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो।
बंगलादेशलाई जित दिलाउन शौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन्। एक गो ल भने थुइनुए मार्माले थपेकी हुन्। नेपालकी भूमिका बूढाथोकीले एक गोल फर्काइन्।
नेपालले ३७औं मिनेटसम्म बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, त्यसको अर्को मिनेट नै बंगलादेशले अग्रता लियो।
मार्माले अगाडी कटाउन लागेको क्रस नेपाली खेलाडीलाई लागेर डिफ्लेक्ट भएको थियो। उक्त बललाई उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै गोल गरिन्।
पहिलो हाफको निर्धारित समय सकिँदै लाग्दा बंगलादेशले अर्को गोल थप्यो। मीनामाया श्रेष्ठले दिएको सट पास बललाई डिफेन्डर सम्झना चन्दले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बंलादेशले गोलको अवसर प्राप्त गर्यो।
उक्त बललाई मामोनी चक्माले प्रीतिसामू पुर्याएकी थिइन्। प्रीतीले उक्त बललाई माथिल्लो बारतर्फबाट सजिलै गोलमा परिणत गरिन्।
इन्जुरी समयमा भूमिकाले एक गोल फर्काइन्। नेपाली खेलाडीले पेनाल्टी बाहिरबाट गरेको लामो प्रहार बंगलादेशी डिफेन्डरले सिक्स यार्ड बक्सनजिक रोकेका थिए। तर, क्लियर गर्नेक्रममा तालमेल नमिल्दा भूमिकाले सहजै गोल गरिन्।
७१औं मिनेटमा प्रीतिले व्यक्तिगत दोस्रो गोल गरिन्। अनमार्क रहेकी प्रीतिले सेटपीसबाट गोल गर्दा नेपाली गोल लक्ष्मी ओलीले कुनै प्रतिक्रिया दिन सकिनन्।
८७औं मिनेटमा प्रीतिले ह्याट्रिक पूरा गरिन्। मार्माले दिएको क्रसलाई उनले सिक्स यार्ड बक्सनजिकबाटै गोल गरिन्। योसँगै बंगलादेशले ४–१ को सहज जित हात पार्यो।