काठमाडौं। नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो लेगको पहिलो हाफमा पछि परेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा नेपाल २–१ ले पछि परेको हो। बंगलादेशकी थुइनुए मार्मा र शौरभी प्रीतिले गोल गरिन्। नेपालकी भूमिका बूढाथोकीले एक गोल फर्काइन्।
नेपालले ३७औं मिनेटसम्म बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, त्यसको अर्को मिनेट नै बंगलादेशले अग्रता लियो।
मार्माले अगाडी कटाउन लागेको क्रस नेपाली खेलाडीलाई लागेर डिफ्लेक्ट भएको थियो। उक्त बललाई उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै गोल गरिन्।
पहिलो हाफको निर्धारित समय सकिँदै लाग्दा बंगलादेशले अर्को गोल थप्यो। मीनामाया श्रेष्ठले दिएको सट पास बललाई डिफेन्डर सम्झना चन्दले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बंलादेशले गोलको अवसर प्राप्त गर्यो।
उक्त बललाई मामोनी चक्माले प्रीतिसामू पुर्याएकी थिइन्। प्रीतीले उक्त बललाई माथिल्लो बारतर्फबाट सजिलै गोलमा परिणत गरिन्।
इन्जुरी समयमा भूमिकाले एक गोल फर्काइन्। नेपाली खेलाडीले पेनाल्टी बाहिरबाट गरेको लामो प्रहार बंगलादेशी डिफेन्डरले सिक्स यार्ड बक्सनजिक रोकेका थिए। तर, क्लियर गर्नेक्रममा तालमेल नमिल्दा भूमिकाले सहजै गोल गरिन्।
नेपाललाई यस खेलमा उपाधि सम्भावना कायम राख्न जितको विकल्प हुनेछैन। पहिलो लेगमा बंगलादेशले नेपाललाई ३-० ले पराजित थरेको थियो। भारतसँग ८-० ले पराजित हुँदा भुटानविरुद्ध २-१ को पुनरागमन जित निकालेको थियो।