काठमाडौं। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो २:४५ बजे सिट्ठी बज्नेबित्तिकै नेपाली किशोरीहरूको लागि समय रोकिएको जस्तै हुनेछ।
त्यो घडीले उनीहरूको भविष्य मात्र होइन, उपाधि यात्राको सपना जिवित रहने–नरहने निक्यौल पनि गर्नेछ।
पहिलो खेलमा भारतसँग ७–० को भारी हार, दोस्रो खेलमा भुटानमाथि २–१ को पुनरागमन जित र तेस्रो खेलमा बंगलादेशविरुद्ध ३–० को निराशा। यी सबै उतारचढावले नेपाली टोलीलाई एउटा कुरा सिकाएको छ– फुटबल अन्तिम क्षणसम्म विश्वास गर्न सक्नेहरूको खेल हो।
मंगलबारको अन्तिम प्रशिक्षण सत्रपछि सेन्ट्रल मिडफिल्डर रवीना विकले मैदान छाड्दा अनुहारमा दृढता झल्किएकी थिइन्। उनले भनिन्,‘हामीले पहिले कम्युनिकेसनमा गल्ती गर्यौं, त्यसैले रक्षापंक्ति कमजोर देखियो।’
थिम्पुको पहाडले घेरिएको रंगशाला र बंगलादेशी टोलीको निरन्तर आक्रमण यी सबैबीच नेपालका किशोरीहरूले आत्मबललाई मुख्य हतियार बनाउनु पर्नेछ। किनकि प्रतिद्वन्द्वी बलियो छ। यो टोलीले भारतसँग २-० को हार बेहोरे पनि भुटानसँग ३-१ को जित निकाल्न सफल भएको थियो। तर, फुटबल सधैं बलियो आधारमा मात्र जितिँदैन, रणनीतिले पनि जित्ने गरिन्छ।
पहिलो लेगमा गोलपोस्टमा ठोकिएको सहारा लिम्बूको प्रहार र ‘वान भर्सेस वान’ मा गोलकिपरलाई बिट गर्न नसकेको क्षण अझै पनि खेलाडीहरूको आँखा अगाडि घुमिरहेको छ। ती अधुरा क्षणलाई पूरा गर्ने मौका बुधबारको खेलले जुराइदिएको छ।
दोस्रो लेग नेपालका लागि उपाधि समीकरणमा टिकिरहने अन्तिम पासो हो। जितको खबर आयो भने यात्रा अझै खुला रहनेछ, हार वा बराबरीको नतिजा आए उपाधिको सपना अन्त्य हुनेछ। अर्कोतर्फ भारत पहिले नै तीन खेल जितेर स्पष्ट अग्रतामा पुगेको छ, जसले दबाबलाई अझ चर्काएको छ।
तर, दबाब नै कहिलेकाहीँ प्रेरणाको स्रोत बन्छ। भुटानविरुद्धको पुनरागमन जितले जस्तै नेपाली टोली फेरि पनि आफ्नो क्षमताले सबैलाई चकित पार्न सक्छ। थिम्पुको मैदानमा जब पहिलो सिट्ठी बज्नेछ, त्यो क्षण नेपाली किशोरीहरूले जीवनकै ठूलो परीक्षा दिन लागेका हुनेछन्,जुन परीक्षामा पास हुनु भनेको देशलाई गर्व दिलाउनु हो।
रवीना लक्ष्य पनि त्यस्तै छ। उनी भन्छिन्,‘अब हामीले सिकेका छौं। पाएको अवसरलाई गोलमा परिणत गर्न सके जित असम्भव छैन।’