काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले युएईमा एकदिवसीय र टी ट्वान्टी सिरिज जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस गरेको छ ।
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक सिरिज जित्न सफल नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ५ लाख दिन राखेपले सरकारसंग सिफारिस गरेको छ ।
‘नेपाली खेलाडीले अन्तराष्ट्रिय जगतमा प्राप्त गरेको सफलतालाई सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही ५ लाख दिन युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेका छौ ।’ राखेप सदस्य सचिव केशब कुमार विष्टले खेलपाटीसंग भने ।
‘सिफारिस पत्र मन्त्रालयमा पठाएका छौ । सरकारले आवश्यक निर्णय गर्नेछ ।’ उनले भने । नेपालले युएईमा एकदिवसीय र टी ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता हात पारेको थियो ।
स्वदेश फर्किएको नेपाली टिमलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री जगत विश्वकर्मा सहित राखेपका पदाधिकारी पुगेका थिए ।
विमानस्थल पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रत्येक खेलाडीलाई जनही १० हजार रुपैया“ दिने घोषणा गरेका थिए । नेपालले युएईविरुद्वको एकदिवसीय र टी ट्वान्टी सिरिज समान २–१ ले जितेको थियो ।