काठमाडौं। थिम्पुको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार साँझ नेपालले भुटानमाथि २–१ को पुनरागमन जित निकाल्दा गोल गर्ने सहारा लिम्बू त चम्किइन् नै तर अर्की स्ट्राइकर यमकुमारी विक पनि बराबर सन्तुष्ट देखिइन्।
उनको भनाइमा यो जित अंक थप्ने मात्र होइन, आत्मबल फिर्ता ल्याउने क्षण हो। यमकुमारी खेलपछि स्पष्ट भइन्, टिम अझै परिपूर्ण छैन।
‘अब त्यही मिस्टेक, डिफेन्स मिस्टेक भइरहेको छ,’ उनले भनिन्, ‘मैले पनि डिफेन्सहरूलाई भनिराको थिएँ मोरल डाउन नगरौं, कम्बिनेसन गरौं। खेलमै त्यो कमजोरी देखियो।’
उनका अनुसार पहिलो हाफमा डिफेन्समा तालमेल नहुँदा गोल खानुपर्यो। तर, दोस्रो हाफमा डिफेन्सले आफूलाई सम्हाल्दा अग्रपंक्तिका खेलाडीलाई अवसर सिर्जना गर्ने सहज वातावरण बनेको थियो।
यमकुमारीका लागि यो जित विशेष रह्यो। ‘यो खेल जित्नुपर्ने थियो,’ उनले स्मरण गरिन्, ‘किनकि हामी पहिले मैत्रीपूर्ण खेलमा भुटानसँग हारिसकेका थियौं। अहिले यो प्रतियोगितामा भने जित्यौं, यो नै ठूलो कुरा हो।
गत वर्षको दशरथ रंगशाला यही टोलीका अधिकांश खेलाडीले भुटानसँग पहिलोपल्ट मैत्रीपूर्ण खेल खेलेका थिए। तुलनात्मकरूपमा कमजोर मानिने भुटानले खेलको सुरुआतदेखि नै नेपाली खेलाडीलाई दबाब दिइरह्यो र ५–१ को लज्जास्पद हार चाखाइदियो।
उक्त हारपछि यमकुमारीसहित केही खेलाडी मैदानमै डाँको छाडेर रोएका थिए। एक वर्षपछि त्यही वातावरण दोहोरिने अवस्थामा थियो। तर, सहाराले गोल गर्दै त्यो स्थिति भोग्नबाट जोगाइदिइन्। भुटानले पछिल्लो समय युवा फुटबलमा धेरै लगानी गरेको छ। त्यो लगानीको प्रतिफल खेलाडीको मिहिनेतमा पनि देखिन्छ।
यमकुमारी यसलाई नकार्न सक्दिनन्। भन्छिन्, ‘भुटानले हामीलाई डाउन बनाइदिएयो। तर, पुनरागमन गरेर जित्यौं, त्यसैले अझै ठूलो उर्जा थपिएको छ।’ उनले खेलमा लिड बचाउन भने निकै गाह्रो भएको स्वीकारिन्।
‘लिड बचाउन गाह्रो भयो, किनकि डिफेन्सले सुरुआतमै राम्रो कम्बिनेसन गर्न सकेको थिएन। तर, सेकेन्ड हाफमा सबै सम्हालियौं। अनि हामीले गोल फर्काएर जित्यौं,’ उनले भनिन्।
भुटानमाथिको जित तीन अंक जोड्ने नतिजा मात्र होइन। यसले पहिलो खेलमा भारतसँग ७–० को लज्जास्पद हार बेहोरेको टोलीलाई उठ्ने आत्मबल पनि दिएको छ। डिफेन्समा कमजोरी स्वीकार्दै यमकुमारीजस्ता स्ट्राइकरले दिएको आत्मविश्वासले टिमलाई आगामी खेलका लागि तयार बनाएको छ।
त्यसैले अन्त्यमा यमकुमारी भन्छिन्,‘हामी अब अर्को खेलमा जित निकाल्नेछौं। त्यसका लागि अझै धेरै मिहिनेत गर्छौं।’ नेपाललले आइतबार बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ। यो टोली दुईपल्टको विजेता र तीनपल्टको उपविजेता हो।
उमेर समूहमा बंगलादेश र नेपाल ६ पल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमाध्ये ४ खेलमा बंगलादेशले जित हात पारेको छ भने नेपालले एक खेल मात्रै आफ्नो पक्षमा ल्याउन सफल भएको छ। एक खेल भने बराबरीमा टुंगिएको छ। अहिले बंगलादेश सानदार लयमा छन्।
पहिलो खेलमा भुटानमाथि ३–१ को जित हात पारेको यो टोलीले भारतलाई पनि बलियो चुनौती दिएको थियो। तर, २–० ले पराजित हुनुपरेको थियो। यद्यपि, बंगलादेशको फरवार्ड लाइन बलियो छ।