काठमाडौं। थिम्पुको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार साँझ नेपालले महत्त्वपूर्ण पुनरागमन जित निकालेपछि टोलीभित्र नयाँ आत्मविश्वास देखिएको छ।
साफ यु–१७ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई २–१ ले हराउँदै पहिलो खेलको हारबाट उठ्ने संकेत दिएको हो।
खेलको सुरुआती भागमा नेपाल दबाबमा परेको थियो। ४२औं मिनेटमा भुटानकी कुन्डेन सोनामले हेडरमार्फत आकर्षक गोल गर्दा रंगशाला गुञ्जिएको थियो।
‘पहिलो हाफपछि हाम्रो नानीहरू अलिकति खुम्चिएका जस्तो लाग्यो,’प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलपछि भने, ‘तर मैले उनीहरूलाई सम्झाएँ। अझै आधा खेल बाँकी छ, अझै धेरै मौका आउँछ।”
दोस्रो हाफमा मैदानमा अर्कै नेपाल देखियो। ५७औं मिनेटमा सहारा लिम्बूले बराबरी गोल फर्काइन्। त्यसपछि खेलमा उर्जा फर्कियो। ७६औं मिनेटमा सहाराले अर्को प्रहारलाई गोलमा परिणत गरिन् र नेपालले अग्रता कायम राख्यो।
तर, यी दुई गोलमा भुटानी गोलरक्षक केल्जिङ वाङ्मोको गल्ती निर्णायक बन्यो। रोक्न सकिने बललाई नियन्त्रणमा लिन नसक्दा नेपालले खेललाई पल्टाउने मौका पायो।
जितपछि पनि प्रशिक्षक श्रेष्ठ निकै आशावादी देखिए। ‘यो जितसँगै उपाधि जित्ने सम्भावना कायम छ। पाँचवटा खेल अझै बाँकी छन्। हामीले जित्दै गयौं भने च्याम्पियन बन्ने सम्भावना खुला छ। तर चुनौती कम छैन,’उनले भने।
उनको नजर अहिले पर्सि हुने बंगलादेशविरुद्धको खेलतर्फ छ। बंगलादेश दुईपल्टको विजेता र तीनपल्टको उपविजेता टोली हो।
उमेर समूहमा बंगलादेश र नेपाल ६ पल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमाध्ये ४ खेलमा बंगलादेशले जित हात पारेको छ भने नेपालले एक खेल मात्रै आफ्नो पक्षमा ल्याउन सफल भएको छ। एक खेल भने बराबरीमा टुंगिएको छ। अहिले बंगलादेश सानदार लयमा छन्। पहिलो खेलमा भुटानमाथि ३–१ को जित हात पारेको यो टोलीले भारतलाई पनि बलियो चुनौती दिएको थियो। तर, २–० ले पराजित हुनुपरेको थियो। यद्यपि, बंगलादेशको फरवार्ड लाइन बलियो छ। यसबारे श्रेष्ठ अघिक सचेत देखिन्छन्।
भन्छन्, ‘हामीले डिफेन्स कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विशेष ट्रेनिङ गर्नेछौं। नानीहरूलाई त्यसैअनुसार सिकाउने तयारी छ।”