काठमाडौं। ह्यारी केनको ह्याट्रिकसँगै बायर्न म्युनिखले शुक्रबार आरबी लाइपजिगलाई ६–० ले पराजित गर्दै बुन्डेसलिगा उपाधि रक्षा अभियान सुरु गरेको छ।
बायर्नले खेलको अधिकांश समय बल पूरै नियन्त्रणमा राख्यो। तर, दोस्रो हाफको सुरुआती १५ मिनेटमा भने पाहुना टोलीका एन्टोनियो नुसाले केही चुनौती दिए। उनले एक पटक नजिकैबाट गोल गर्ने मौका गुमाए र अर्को प्रहार गोल मानिएन।
तर, नुसाको ती प्रयासले बायर्नलाई अझ सशक्त बनाउन मद्दत गर्यो। विशेषगरी केनलाई, जसले त्यसपछि गोलको वर्षा गरे। २७औं मिनेटमा माइकल ओलीसेले गोल गरेर खाता खोले।
पाँच मिनेटमै लुइस डियाजले केन र सेर्ज ग्नाब्रीसँगको उत्कृष्ट संयोजनमा बल पाएका थिए। ग्नाब्रीले हिल पासमा डियाजलाई बल दिए। उनलले क्रसबारबाट गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए।
त्यसपछि फेरि दुई मिनेटमै ग्नाब्रीले दुई डिफेन्डरलाई छक्क्याउँदै ओलीसेलाई पास दिए र उनले आफ्नो दोस्रो गोल गर्दै स्कोरलाइन ३–० बनाए। जमाल मुसियालाको चोटका कारण ओलीसेलाई केन्द्रीय भूमिकामा उतारिएको थियो, जसलाई उनले शानदार प्रदर्शनले भरपूर न्याय गरे।
लाइपजिग नयाँ प्रशिक्षक ओले भेर्नरले हाफटाइमपछि केही सुधारका संकेत देखाएका थिए। तर, ६४औं मिनेटमा डियाजको पास समातेर केनले विपक्षी डिफेन्डरलाई बिट मात्र गरेनन्, गोलकिपर गुलाचीलाई उसैगरी पाखा लगाउँदै आफ्नो पहिलो गोल पनि गरे। त्यसपछि प्रशिक्षक भिन्सेन्ट कोम्पानीले ६८औं मिनेटमा चारै खेलाडी एकैपटक परिवर्तन गरे तर दबाब भने झन् बढ्दै गयो।
७४औं मिनेटमा फेरि डियाजकै पासमा केनले दोस्रो गोल गरे र त्यसको चार मिनेटमै उनले आफ्नो पहिलो ह्याट्रिक पूरा गरे।
खेलपछि केनले भने, ‘हामी मैदानमा स्पष्ट सन्देश दिन चाहन्थ्यौं र त्यही गर्यौं। लाइपजिग राम्रो टोली हो तर आज हामी सबै क्षेत्रमा उत्कृष्ट थियौं। जे बेला अवसर चाहिन्थ्यो, हामीले क्लिनिकल तरिकाले उपयोग गर्यौं।’