काठमाडौं। सहारा लिम्बूको सानदार प्रदर्शनसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हात पारेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले २–१ को जित हात पारेको हो। योसँगै नेपालले तीन अंक जोडेको छ। पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो।
भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
पहिलो हाफमा नेपाल १–०ले पछि परेको थियो। तर, ५८औं मिनेटमा साहरा लिम्बूले नेपाललाई खेलमा फर्काइन्।
भुटानी डिफेन्डरले राम्रोसँग बल क्लियर गर्न नसक्दा उनले पेनाल्टी बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै बलललाई जाली चुमाइन्।
७७औं मिनेटमा साहराले नै नेपाललाई २–१ को अग्रता दिलाइन्। भुटानी डिफेन्डरबीच तालमेल मिल्न नसक्दा प्राप्त बललाई साहराले पहिलो झैं गोल गरिन्। योसँगै नेपालले पहिलो जित हात पार्यो।