काठमाडौं। स्टुडेन्ट एफसीले एन्फा महिला लिग छनोटमा सहज जित हात पारेको छ।
च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा एफसी रियलेविरुद्ध ३–१ को जित निकालेको हो। स्टुडेन्टलाई जित दिलाउन सुशीला सुश्लिंग, पूर्णिमा थारु र सविना तामाङले गोल गरे।
रिएलेका लिग पूजा थेबेले गोल फर्काइन्। तर, उक्त गोल पर्याप्त रहेन। दोस्रो जितसँगै स्टुडेन्टले समूह ‘ए’ मा तीन खेलमा ६ अंक जोडेको छ। रिएलेको भने यो लगातार तेस्रो हार हो।
खेलको २७औं मिनेटमा सुशीलाको गोलमार्फत स्टुडेन्टले सुरुआती अग्रता लिएको थियो। ६६औं मिनेटमा पूजाले रिएलेलाई खेलमा फर्काइन्।
तर, ७८औं मिनेटमा पूर्णिमाले गोल गर्दै स्टुडेन्टलाई पुन: २–१ को अग्रता दिलाइन्। इन्जुरी समयमा सविनाले गोल गर्दै स्टुडेन्टको ३–१ को सहज जित पक्का गरिन्।