काठमाडौं। नेपाली टोली साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा भुटानसँग भिड्न मैदानतिर निस्कँदैछ। तर, नेपाली टोलीको मन शुक्रबारको खेलमै मात्र अडिएको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको त्यो कालो दिन अझै पनि छायाजस्तै पछ्याइरहेको छ।
गत वर्षको साउन २६ गते दशरथ रंगशाला। नेपाली यु–१६ टोलीले घरेलु मैदानमै भुटानसँग ५–१ को लज्जास्पद हार बेहोरेको दिन। त्यसबेला प्रशिक्षक सुलभजंग राणाले त्यसलाई ‘नेपाली फुटबलकै कालो दिन’ भनेका थिए।
‘भुटानसँग हारेपछि मलाई समाजलाई कसरी फेस गर्ने भन्ने लाग्यो,’ उनले पछि भनेका थिए। त्यो दिनले नतिजामा मात्रै होइन, नेपाली उमेरसमूह फुटबलको आत्मविश्वासमै ठूलो चिरा पारिदिएको थियो। मैदानमै डाँको छाडेर रुएका खेलाडीलाई फकाउन उनलाई हम्मेहम्मे परेको थियो। ड्रेसिङ रुमको महौल अझै हृदयविदारक थियो।
अहिले फेरि त्यही भुटान र नेपाल आमनेसामने हुँदैछन्। तर, मञ्च फरक छ। साफ महिला यु–१७ महिला च्याम्पियनसिप। स्थान थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला। खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।
नेपालले भारतविरुद्ध पहिलो खेलमा ७–० को असह्य हार बेहोरेको छ। त्यो हारले टोलीलाई कमजोर बनाइदिएको छ। अझ बंगलादेशविरुद्ध भुटानले गरेको प्रदर्शनले नेपाललाई सावधानीपूर्वक निर्णय लिनुपर्ने सन्देश दिएको छ। किनकि आठ महिनाअघि दशरथमा भएको ५–१ को हार अझै ताजा छ।
भुटानको यात्रा भने फरक छ। यो घरेलु टोलीले बंगलादेशविरुद्ध पहिलो खेलमा हार बेहोरे पनि प्रदर्शन प्रेरणादायी रह्यो। यस्तै घरेलु समर्थकको ऊर्जा पनि आज उनीहरूको साथमा हुनेछ। नेपालका लागि यो तीन अंकको कुरा होइन, यो मानसिक पुनरुत्थानको खेल हुनेछ।
आक्रमक मिडफिल्डर बबतिका कार्की दुवैले स्वीकारेका छन् भुटानलाई अब ‘सहज’ भनेर लिन सकिँदैन। ‘सहभागी चार टोलीमध्ये भुटान तुलनात्मक रूपमा कमजोर टोली मान्ने गरिन्छ । तर, भुटान अहिले त्यस्तो छैन। त्यही पनि हामीसँग अनुभव छ, चुनौतीका लागि तयार छौं,’ उनी भन्छिन्।
इतिहासले पनि भुटान कमजोर नरहेको तथ्य देखाउँछ। साफ महिला उमेरसमूहमा नेपाल र भुटान पाँच पटक भिडेका छन्, जसमा नेपालले दुई जित, दुई बराबरी र एक हार बेहोरेको छ। तर नेपालले भुटानसँगै पहिलोपल्ट हार यही चाङ्लिमिथाङ रंगशालामा भोगेको थियो। सन् २०१८ को संस्करणमा तेस्रो स्थानको भिडन्त पेनाल्टीमा भुटान ४–३ ले विजयी भएको थियो।
त्यसैले शुक्रबारको खेलमा प्रश्न जित्ने या हार्नेमा सीमित रहँदैन। प्रश्न नेपालले आफ्नो अघिल्लो घाउमा मलहम लगाएर आत्मविश्वास फिर्ता ल्याउन सक्छ? कि फेरि भुटानले त्यही घाउलाई अझै गहिरो बनाइदिनेछ? भन्नेमा टिकेको छ।