काठमाडौं। बंगलादेश राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हाभियर काब्रेरा आगामी सेप्टेम्बर ६ र ९ मा नेपालसँग हुने दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आफ्ना खेलाडी तयार हुनेमा विश्वस्त देखिएका छन्।
यद्यपि, बसुन्धरा किंग्सले आफ्ना १० खेलाडीलाई अर्को महिना मात्रै राष्ट्रिय टोलीमा सहभागी गराउने अपेक्षा गरिएको छ। ४० वर्षीय स्पेनिस प्रशिक्षक काब्रेराले १५ अगस्टदेखि १३ खेलाडीलाई लिएर प्रशिक्षण सुरु गरेका छन्।
तर, किंग्सले प्रि–सिजन तयारी र खेलाडीको चोटको कारण देखाउँदै आफ्ना खेलाडी नपठाएको हो। त्यसपछि उनले आठ जना यु–१९ खेलाडीलाई बोलाएर खाली स्थान भरेका छन्।
‘हाम्रो क्याम्पमा अहिले १३ जना सिनियर खेलाडी छन्। केही यु–२३ टिममा छन् भने किंग्सका खेलाडी क्लबसँगै छन्। समूह पूरा गर्न यु–१९ खेलाडी ल्याएका छौं र अहिलेसम्मको वातावरण सकारात्मक छ,’ काब्रेराले राष्ट्रिय स्टेडियममा प्रशिक्षणअघि पत्रकारसँग भने।
उनले थपे, ‘मलाई लाग्छ यो प्रभावकारी हुनेछ। अझै तयारीका लागि पर्याप्त समय छ। किंग्सका खेलाडीहरू अर्को महिना टिममा आउनेछन् भन्ने आशा छ। त्यसपछि पनि हामीसँग नेपालविरुद्धका खेलका लागि तयार हुन समय हुनेछ।’
यसबीच बंगलादेश फुटबल फेडरेसन (बीएफएफ) ले इङ्ल्यान्डमा खेल्दै आएका हम्जा चौधरीलाई नेपालमै टिम पुगेपछि सहभागी गराउने आशा गरेको छ। तर, क्यानडामा रहेका शोमित शोमेले भने यी दुई मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।
काब्रेरा भने युवा खेलाडीप्रति आशावादी छन्। ‘जति धेरै खेल खेलिन्छ उति धेरै खेलाडी भविष्यका लागि तयार हुन्छन्। अझै पनि हामीसँग सिनियर खेलाडीहरू छन् तर यु–२३ को आगमनसँगै केही सिनियरले कम समय पाउनेछन्। यसैले युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने मौका छ। किनभने नेपाल यात्रा अघि हामीले अभ्यास खेल खेल्दैछौं,’ उनले भने।
काब्रेराले किंग्सका अध्यक्ष इमरुल हसनसँग पनि कुरा गरेको बताए। इमरुल बीएफएफका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय टोली समितिका सहअध्यक्ष समेत हुन्। प्रशिक्षकले क्लब तथा अन्तर्राष्ट्रिय खेल तालिकाबारे छलफल भए पनि आफू विवादमा जान नचाहेको बताए।
त्यसैले इमरुलप्रत सम्मान रहेको उल्लेख गरे।