काठमाडौं। लुइस सुआरेजले दुईवटा पेनाल्टी गोल गर्दै इन्टर मियामीलाई मेक्सिकोको टिग्रेस यूएएनएलमाथि २–१ को जित दिलाएका छन्।
लिग्स कप क्वाटरफाइनलमा बुधबार राति भएको खेलमा लिओनल मेसी अनुपस्थित रहे पनि मियामी सेमीफाइनलमा प्रवेश गर्न सफल भयो।
अघिल्लो खेलमा एलए ग्यालेक्सीविरुद्ध टोलीलाई जित दिलाएका मेसी यसपटक प्रशिक्षणमै सहभागी भएनन्। सहायक प्रशिक्षक जाभियर मोरालेस भन्छन्,‘हामी सबै मेसीको स्वास्थ्यकै आधारमा निर्णय गर्छौं। आज जाभियर (मास्चेरानो) ले उनलाई सोध्दा उनी ठीक छैन भने। त्यसैले हामीले जोखिम नलिने निर्णय गर्यौं।’
पहिलो गोल सुआरेजले पेनाल्टीमार्फत गरे। जोर्डी आल्बाको क्रस टिग्रेसका डिफेन्डर जाभियर एक्विनोको हातमा लागेपछि पेनाल्टी दिइएको थियो। त्यसपछि एन्जेल कोरेआले टिग्रेसका लागि बराबरी गोल फर्काए। तर, फेरि एकपटक बक्सभित्र एक्विनोको हातमा बल लागेपछि सुआरेजले दोस्रो पेनाल्टी पनि सफलतापूर्वक गोलमा परिणत गर्दै मियामीलाई जित दिलाए।
टिग्रेसका एडगर लोपेजले अन्तिमतिर हानेको हेडर दुवै पोस्टमा ठोक्किएर फर्कियो र टोली बराबरीमा फर्कन असफल भयो। मियामीका सहायक प्रशिक्षक मोरालेसले थप विवादबारे प्रतिक्रिया दिए।
दोस्रो हाफ सुरु हुनु अघि नै मास्चेरानोलाई रातो कार्ड दिइएको थियो। मैदानबाहिर पठाइए पनि उनलाई फोनमार्फत निर्देशन दिइरहेको देखिएको थियो, जुन लिग्स कपको नियम विपरीत हो।
मोरालेसले भने,‘हामी थपिएको समयबारे गुनासो गरिरहेका थियौं। चार मिनेट भनिएको थियो, तर खेल झण्डै ६ मिनेटसम्म चल्यो।’ त्यसैबीच मियामीका जोर्डी आल्बा दोस्रो हाफको सुरुतिर मैदान छाड्न बाध्य भए।
पहिलो हाफको अन्तिमतिर घाइते भएका उनले खेल जारी राख्न सकेनन्। मोरालेसले भने, ‘हामीसँग अहिलेसम्म मेडिकल रिपोर्ट आएको छैन, तर जहाँसम्म बुझिएको छ, उनको घुँडामा चोट लागेको रहेछ।’