काठमाडौं। बंगलादेश राष्ट्रिय फुटबल टिमका स्पेनिस मुख्य प्रशिक्षक हाभियर काब्रेरालाई गत १० जुनमा ढाकामा भएको एएफसी एसियन कप छनोटअन्तर्गत सिंगापुरविरुद्धको घरेलु खेलमा २–१ को हारपछिबाटै अनेक पक्षले दोषारोप गर्दै आएका छन्।
सो खेलपछि बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) का कार्यकारी सदस्य साख्वात हुसेन भुइयाँ शाहिनले सिधै उनको राजीनामा मागेका थिए। हालै अर्का कार्यकारी सदस्य सैद हसन काननले समेत सिंगापुरविरुद्ध काब्रेराले गरेका कतिपय गल्तीको खुलेर आलोचना गरेका छन्।
तर, नयाँ अन्तर्राष्ट्रिय विन्डो सुरु भइसकेपछि पनि त्यो खेलकै प्रसंग पत्रकारहरूको प्रश्नमा उठ्यो। एक सातादेखि सुरु भएको प्रशिक्षण क्याम्पमा बुधबार पहिलोपटक पत्रकारहरूसामु आएका काब्रेराले भने, ‘म सबैको मतलाई सम्मान गर्छु। बीएफएफका विभिन्न व्यवस्थापनसँग धेरै बैठक भएको छ। उनीहरूले आफ्ना विचार राखेका छन्, मैले पनि आफ्ना तर्क प्रस्तुत गरेको छु। कतिपयमा सहमति भएको छ भने केहीमा असहमति। म सबैको विचारलाई सम्मान गर्छु।’
सेप्टेम्बर विन्डोमा ६ र ९ तारिखमा बंगलादेशले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। करिब एक महिनासम्म तयारीका लागि समय दिइएको छ। तर, यसले घरेलु क्लबहरूलाई प्रि–सिजन तयारीका लागि अवरोध पुगेको भन्दै आलोचना भइरहेको छ।
बीएफएफका वरिष्ठ उपाध्यक्ष इमरुल हसनले हालै सञ्चारमाध्यममा भनेका थिए, ‘सेप्टेम्बर विन्डोमा खेल्न प्रशिक्षक आफैं इच्छुक थिएनन्, त्यसैअनुसार घरेलु तालिका तय गरिएको हो।’
यसबारे प्रश्न सोधिँदा काब्रेराले प्रतिक्रिया जनाउँदै भने, ‘म सधैं प्रि–सिजन सुरु हुनुभन्दा पहिले योजना तयार गर्छु। यसबारे महिनौं अघि छलफल भएको थियो। यसबारे म इमरुल सरसँग कुनै विवादमा जान चाहन्नँ। म उहाँलाई सम्मान गर्छु। अहिले हाम्रो ध्यान नेपालमा हुने तयारीमै छ।’
यद्यपि, दुईवटा मात्र मैत्रीपूर्ण खेलका लागि यति लामो तयारी किन भन्ने प्रश्नमा उनले भने, ‘१० जुन सिंगापुर खेलपछि कुनै पनि अन्तर्राष्ट्रिय वा घरेलु खेल छैन। त्यसैले खेलाडीलाई फिट राख्नका लागि समयमै क्याम्प सुरु गरिएको हो।’
यसबीचमा बंगलादेशको सबैभन्दा ठूलो क्लब बसुन्धरा किंग्सले आफ्ना १० जना खेलाडी राष्ट्रिय टिममा पठाएका छैनन्। पूर्ण रूपमा टोली नपाएको स्वीकार गर्दै काब्रेराले भने, ‘हामी हालसम्मको प्रगति र सकारात्मकतामा सन्तुष्ट छौं। पर्याप्त समय पाएका छौं। यसले नेपाल मात्र होइन, आगामी एसियन कप छनोटमा हङकङ र भारतविरुद्धको खेलका लागि पनि उपयोगी हुनेछ।’
बसुन्धरा किंग्सका खेलाडी नभए पनि काब्रेराले १५ अगस्टदेखि प्रशिक्षणलाई निरन्तरता दिएका छन्। अन्य क्लबबाट १३ जना खेलाडी बोलाइएका छन्। अभ्यास सहज बनाउन थप २–३ र उमेर समूहका केही खेलाडी पनि प्रशिक्षणमा सहभागी छन्।
सानो टोलीमा भइरहेको अभावलाई पूरा गर्न सन् १७ वर्षमुनि (साफ यु–१७) क्याम्पमा रहेका चार खेलाडीलाई समेत प्रशिक्षणमा सावेश गरिएको छ।