काठमाडौं। लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) को वर्षको उत्कृष्ट खेलाडी घोषणा भएका छन्। इजिप्टका यी खेलाडी तीन पटक यस अवार्ड जित्ने पहिलो व्यक्ति बनेका छन्।
सलाह सन् २०१७ मा लिभरपुल भित्रिएका थिए। उनले पछिल्लो सिजन प्रिमियर लिगमा २९ गोल र १८ असिस्ट गर्दै टोलीलाई लिग उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलभन्दा १० अंकको अग्रता बनाएको थियो।
३३ वर्षीय सलाहले यसअघि प्रिमियर लिग प्लेयर अफ द सिजन, गोल्डेन बुट (सबैभन्दा बढी गोल गर्ने) र प्लेमेकर (सबैभन्दा बढी असिस्ट गर्ने) अवार्ड जितिसकेका थिए। उनी पहिलो खेलाडी हुन्, जसले एउटै सिजनमा यी तीनवटा अवार्ड जितेका छन्।
पहिलो पटक उनले सन् २०१८ मा पीएफए अवार्ड जितेका थिए। त्यसपछि २०२२ मा र यस वर्ष पुनः विजेता बनेका हुन्। उनी ९२ प्रिमियर लिग र फुटबल लिग टोलीका पीएफए सदस्यहरूको भोटबाट छानिएको ६ जनाको सर्टलिस्टमा शीर्षमा रहे।
सलाह रहेको सर्टलिस्टमा उनका लिभरपुलका सहकर्मी एलेक्सिस म्याक एलिस्टर, न्युकासल युनाइटेडका अलेक्ज्यान्डर इसाक, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, आर्सनलका डेक्लान राइस र चेल्सीका कोल पाल्मर थिए।
सलाहले अप्रिलमा लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका थिए। योसँगै उनी साउदी प्रो–लिग जाने अफवाह अन्त्य भएको थियो। एस्टन भिल्ला र इङ्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्स २३ वर्षको उमेरमा वर्षको युवा खेलाडी घोषित भए।
उनले पछिल्लो सिजन ३७ खेलमा आठ गोल गरे र च्याम्पियन्स लिगमा चार गोलसहित सेलेटिकविरुद्धको जितमा ह्याट्रिक पनि गरेका थिए। आर्सनलकी मिडफिल्डर मारीओना काल्डेन्टेई महिला खेलाडी वर्षको अवार्ड जितिन्।