काठमाडौं। बंगलादेशको राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बर फिफा विन्डोमा नेपालविरुद्ध खेलिने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ।
दुई खेल सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ। बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले इङ्ल्यान्डमा जन्मिएका मिडफिल्डर हम्जा चौधरी र कप्तान जमाल भुइयाँ पनि २४ सदस्सीय टोलीमा रहने पुष्टि गरेको छ।
घरेलु ट्रान्सफर विन्डो सकिएपछि पूर्ण टोली घोषणा गरिनेछ। यसपटक टोलीमा क्यानडाको लिग खेल्ने फरवार्ड शमित शोमे भने अनुपस्थित हुनेछन्। क्याभलरी एफसीका लागि खेल्ने शमितको क्यानडियन प्रिमियर लिग खेल सेप्टेम्बर ६ र १४ मा पर्न जाने भएकाले उनी नेपालविरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्।
राष्ट्रिय टोलीका व्यवस्थापक आमेर खानले भने,‘शमितको लिग खेल भएकाले यो विन्डोमा उनलाई बोलाइएको छैन। तर, हम्जा २४ जनाको सूचीमा छन्। हामीले उनको क्लब लेस्टर सिटीलाई पत्र पठाइसकेका छौं र उनलाई उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ।’