काठमाडौं। नापोलीका स्ट्राइकर रोमेलु लुकाकुले बायाँ तीघ्राको चोट बोकेका छन्। योसँगै उनले शल्यक्रिया गर्नुपर्ने सम्भावना देखिएको छ। इटालियन च्याम्पियन क्लबले सोमबार यसबारे जानकारी दिएको हो।
गत बिहीबार ओलिम्पियाकोसविरुद्धको मैत्रीपूर्ण खेलमा नापोलीले २–१ को जित हात पार्दा लुकाकु खेलको बीचमा नै मैदानबाट बाहिरिएका थिए।
परीक्षणपछि लुकाकुको बायाँ खुट्टाको तीघ्रामा रहेको मांसपेशीमा गम्भीर स्तरको क्षति नापोलीले जनाएको छ। क्लबले थप जानकारी दिँदै भनेको छ, ‘उनी पुनःस्थापन कार्यक्रम सुरु गरिसकेका छन् र छिट्टै शल्यक्रिया विशेषज्ञसँग परामर्श लिनेछन्।’
लुकाकु कति समय मैदान बाहिर रहने भन्नेबारे नापोलीले कुनै समयसीमा भने खुलाएको छैन। तर, क्लबले आगामी शनिबार सासुओलोसँग हुने सिरी ‘ए’ को पहिलो खेलमार्फत उपाधि बचाउने अभियान सुरु गर्न लागेको छ।
यससँगै बेल्जियमको चिन्ता पनि बढेको छ। राष्ट्रिय टोलीको इतिहासमै सर्वाधिक गोल गर्ने लुकाकुको अवस्थाले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा हुने विश्वकप छनोटका खेलमा उनको उपलब्धता अनिश्चित देखिएको छ।