काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई फर्सिट एफसीले अनुबन्ध गरेको हो। २७ वर्षीय अनन्तले पछिल्लो समय विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भारतमा १३४औं डुरान्ड कप खेलेका थिए। तर, जितविहीन हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको थियो।
यो उनको तेस्रो विदेशी क्लब हो। उनले यसअघि मार्बेला युनाइटेड र इस्ट बंगालबाट खेलिसकेका छन्। एन्फा एकेडेमीका उत्पादन रहेका अनन्तले थ्री स्टार र चर्च ब्वाइजस्ता क्लबाट घरेलु लिग खेलेका छन्।
उनले आफ्नो कप्तानीमा ललितपुर सिटी एफसीलाई ब्याक टू ब्याक नेपाल सुपर लिगको उपाधि दिलाएका थिए। यस्तै, चर्च ब्वाइजलाई पनि पहिलो सिजनमै ए डिभिजन लिगको उपाधि दिलाएका थिए।
यस सिजन बंगलादेशको लिगमा आबद्द हुने उनी चौथो नेपाली खेलाडी हुन्। यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरिसकेको छ।
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसले अनुबन्ध भएका छन्। किरण र आयुष ढाका पुगिसकेका छन्।