काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना गर्ने घोषणा गरिसकेको छ।
नोभेम्बरमा आयोजना हुने तय भएको यो प्रतियोगिता दक्षिण एसियामा बढ्दो प्रतिस्पर्धा र आकर्षणको एउटा ठूलो मञ्च बन्ने अपेक्षा गरिएको छ।
साफ महासचिव पुरुषोतम कट्टेलका अनुसार अहिले सदस्य राष्ट्रहरूको सहभागिताबारे स्पष्ट संख्या आउने क्रममै छ। कुल सात सदस्यमध्ये पाँच राष्ट्रले मात्र अहिलेसम्म खेल्ने प्रतिबद्धता जनाएका छन्।
‘हामी अहिले सदस्य राष्ट्रले के गर्छन् भनेर हेरिरहेका छौं,’ कट्टेलले खेलपाटीसँग भने, ‘सातमध्ये पाँच राष्ट्रले खेल्ने भनेका छन्। कसरी रजिस्ट्रेसन गर्छन्, त्यसरी नै फर्म्याट तय गर्नेछौं।’
फर्म्याटको खाका पनि तयार पारिएको छ। यदि सहभागी टिमको संख्या ६ पुग्यो भने आयोजक राष्ट्रलाई छुट्टै ‘स्लट’ दिइनेछ। त्यसपछि उच्च वरीयतामा रहेका एक टोलीको पनि छुट्टै ‘स्लट’ हुनेछ।
यस्तो भएमा नेपालले २ टोली उतार्नेछ। फिफा वरीयतामा भने साफ क्षेत्रमा शीर्ष स्थानमा छ। ६३औं स्थानमा रहेको यो टोलीले २ घरेलु टोली उतार्ने मौका पाउने छ।
यस्तो नभए कुल ८ टोली हुनेछन्। ती ८ टोलीलाई ४–४ टोलीको दुई समूह बनाउने योजना रहेको कट्टेलको भनाइ छ।
तर, अहिले पाकिस्तान, नेपाल, बंगलादेश, भारत र भुटानले मात्र चासो देखाउँदा साफ प्लान बीमा जाने सम्भावना उच्च छ। अर्को एक राष्ट्र थपिएन भने प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ।
महिला क्लब फुटबलमा साफ क्षेत्रका सदस्य राष्ट्रहरूसँग राम्रो सम्भावना देखिन्छ। बंगलादेशमा ११, भारतमा ७, नेपालमा १० र भुटानमा १० महिला क्लबले शीर्ष डिभिजन खेलिरहेका छन्।
साफ क्लब च्याम्पियनसिपमार्फत यी टोलीले अन्तर्राष्ट्रिय स्तरमा खेल्ने मौका पाउनेछन्। यो प्रतियोगिता घरेलु महिला फुटबलको स्तर देखाउन र स्थानीय दर्शकलाई महिला खेलतर्फ आकर्षित गर्ने ठूलो अवसर बन्नेछ।
यदि सबैकुरा योजनाअनुसार अघि बढे साफ महिला क्लब च्याम्पियनसिप एक अन्तर्राष्ट्रिय खेल मात्र होइन, महिला फुटबलको विकास र क्षेत्रीय एकताको अर्को ‘माइलस्टोन’ बन्नेछ।