काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले बुधबार युइएफए सुपर कपमा टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै २०२५ को आफ्नो पाँचौं उपाधि जितेको छ।
फ्रेन्च क्लबले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो। स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो। तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो।
८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए। इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्याए।
पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो। तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पार्यो। अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए।
पीएसजीका प्रशिक्षक लुइस एनरिकेले भने, ‘कहिलेकाहीँ फुटबल निष्पक्ष हुँदैन। अन्तिम १० मिनेटमा दुई गोल गर्न पाउनु हाम्रो ठूलो भाग्य हो।’
नयाँ गोलकिपर चेभालिएरको उतारचढावपूर्ण खेल
लिल्लबाट भर्खरै आएका गोलकिपर लुकास चेभालिएरले गियानलुइजी डोनारुम्माको स्थान लिँदै पहिलो रोजाइको खेल खेले।
३९औं मिनेटमा जोआओ पाल्हिन्हाको प्रहार बारमा छोएर फर्किँदा भान डे भेनले छिटो प्रतिक्रिया दिँदै गोल गरे। ४८औं मिनेटमा टोटनह्याम कप्तान क्रिस्टियन रोमेरोको हेडर रोक्न नसक्दा दोस्रो गोल खाए।
तर, सुटआउटमा भान डे भेनको पेनाल्टी बचाउँदै उनले डोनारुम्मा स्तरको प्रदर्शन देखाए। एनरिके भने, ‘म उनका लागि धेरै खुसी छु।’