काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध दायर गरेको अवहेलनाको मुद्दा खारेज भएको छ।
काभ्रेको धुलिखेलमा गत वैशाख २६ गते भएको एन्फाको नियमित साधारणसभामा गणेश र गौरवलाई प्रवेशमा रोक लगाइएको थियो। यस घटनापछि उनीहरूले उच्च अदालत पाटनमा अवहेलनाको मुद्दा दायर गरेका थिए।
उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराम कोइरालाको संयुक्त इजलासले मंगलबार उक्त मुद्दामा दाबी नपुग्ने भन्दै रिट खारेज गरेको हो।
साधारणसभामा गणेश सुर्खेतको ‘बी’ डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि र गौरव काठमाडौं जिल्ला फुटबल संघका प्रतिनिधिका रूपमा पुगेका थिए। तर, एन्फाले सभाहल प्रवेश निषेध गर्दै प्रहरीमार्फत यी दुईलाई रोक लगाएको थियो।
यसअघि उच्च अदालतले नै उनीहरूलाई साधारणसभामा भाग लिन रोक्नु नपर्ने आदेश दिएको थियो। तर, एन्फाले उक्त आदेशको अवज्ञा गरेको आरोपसहित अवहेलनाको मुद्दा दायर गरिएको थियो।