इलाम। इन्जुरी समयको अन्तिम मिनेट गोल बेहोर्न पुग्दा द योङ ब्रदर्स इटहरी तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। इटहरीलाई ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडले पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो।
निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए। खेलको ७७औं मिनेटमा योङ ब्रदर्सले पाएको फ्रिकिकमा प्रवेश बस्नेतको प्रहार चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरीले नियन्त्रण गुमाएका थिए।
भारी वर्षाका कारण हिलाम्मे खेल मैदानमा चौधरीको हातबाट फुत्किएको बलले गोल लाइन क्रस गरेको थियो। यस्तै, खेल सकिन १ मिनेट बाँकी रहँदा डिबक्स बाहिर पाएको फ्रिकिकलाई सुमन श्रेष्ठले जाली चुमाएका थिए।
टाइब्रेकरमा चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी नायक सावित भए। उनले इटहरीको २ वटा प्रहारलाई बचाएका थिए। चर्च ब्वाइजका लागि सुमन श्रेष्ठ, रोशन पहाडी र युवराज ढकालले गोल गरे।
नवयुग श्रेष्ठको प्रहार फ्रेममा लागेर बाहिरिएको थियो। इटहरीका नीरज खड्काको प्रहार मात्र गोलमा परिणत भएको थियो। गोलरक्षक चौधरीले इटहरीका विशाल तामाङ र निवास फुयाँलको प्रहार रोकेका थिए।
युगन राईको प्रहार पोस्टमा लागेर फर्किएको थियो। खेलको प्लेयर अफ दी म्याच चर्च ब्वाइजका सुमन श्रेष्ठ भए। उनले नगद ७ हजार पाए।