सिक्दै छ बंगलादेश

काठमाडौं। बंगलादेश महिला फुटबल टिमका मुख्य प्रशिक्षक पिटर बटलरले एएफसी यु–२० महिला एसियन कप छनोटको अन्तिम खेलअघि दक्षिण कोरियासँगको भिडन्तलाई आफ्नो टोलीका लागि मूल्यवान् पाठ बन्ने अपेक्षा गरेका थिए।
दक्षिण कोरियाको प्राविधिक क्षमता र व्यवस्थित विकास संरचनाको प्रशंसा गर्दै उनले भनेका थिए,‘उनीहरूले करोडौं लगानी गर्छन्, योजना र संगठनमा ठूलो खर्च गर्छन्। उनीहरूका खेलाडीहरू बीएफएफको लेभल–३ मै रोकिन्नन्। यो प्रतियोगिताबाट हामी केही सिकेर फर्किन्छौं भन्ने आशा छ।’
तर, भियन्टाइनस्थित लाओ नेसनल स्टेडियममा आइतबार भएको खेलले बटलरलाई उनले सोचेभन्दा फरक पाठ सिकायो। ‘यंग टाइग्रेस’ भनिने बंगलादेशी टोलीलाई दक्षिण कोरियाले ६–१ को फराकिलो अन्तरले हराउँदै टिममा रहेका कमजोरीहरू प्रस्टै देखाइदियो।
यो हारपछि पनि बंगलादेश समूह उपविजेतामध्ये उत्कृष्ट तीन टोलीमा पर्न सफल भयो र अन्तिम चरणको छनोटमा प्रवेश गर्न सफल भयो। तर, हारको शैलीले भने बटलर र उनको टोलीका लागि गम्भीर प्रश्नहरू उब्जायो।
समूह चरणको अन्तिम खेलअघि बंगलादेश अप्रत्याशित रूपमा शीर्ष स्थानमा थियो। लाओसलाई ३–१ र टिमोर–लेस्टेलाई ८–० ले हराएको थियो। त्यतिबेला कोरियाले लाओसलाई मात्र १–० ले जित्दा गोलअन्तरमा बंगलादेश अगाडि थियो।
लगातारको जित र सिनियर टोलीको हालैको सफलताले समर्थकहरूलाई ठूलो नतिजाको सपना देखाएको थियो। तर, मैदानमा त्यो स्तरको खेल नै देखिएन।
सिनियर स्तरमा २१औं स्थानमा रहेको दक्षिण कोरिया र १०४औं स्थानमा रहेको बंगलादेशबीचको दूरी प्राविधिक कौशल, अनुशासन र शारीरिक फिटनेसमा स्पष्ट देखिन्थ्यो। खेलको १५औं मिनेटमा बंगलादेशले सुरुआती अग्रता लियो। तर, चार मिनेटमै कोरियाकी कप्तान ली हेउनले खेल बराबरीमा ल्याइन्।
त्यसपछि बटलरले आफ्नो मनपर्ने तीन डिफेन्डरको प्रणाली त्याग्दै चार डिफेन्डरको सेटअप रोजे र दुई विङ्गरलाई मिडमा ताने। तर, खेलको लय कोरियाको पक्षमा पुगिसकेको थियो। दोस्रो हाफमा कोरियाले निरन्तर दबाब दिँदै थप पाँच गोल गर्यो। बंगलादेशको घट्दो फिटनेस र कमजोर आत्मविश्वासको फाइदा उठायो।
यो कमजोरी यस खेलमा मात्र होइन, सिनियर टिमको एसियन कप छनोट अभियानमा पनि देखिएको हो। टोलीले प्रायः रितु पोर्ना चक्मा वा रुपना चक्माजस्ता खेलाडीमा अत्याधिक निर्भर हुन्छ।
यी दुईको व्यक्तिगत प्रदर्शनमा बंगलादेशले नतिजा निकालिरहेको छ। तर, सात महिनाभन्दा कम समयमै अस्ट्रेलियामा हुने महिला एसियन कपमा उत्तर कोरिया र चीनजस्ता बलिया प्रतिद्वन्दीसँग खेल्नुपर्ने भएकोले अब बंगलादेशलाई भाग्य वा व्यक्तिगत कौशलभन्दा धेरै कुरा चाहिनेछ।
बटलरको कार्यकाल भने उपलब्धिपूर्ण छ। उनको नेतृत्वमा सिनियर टोलीले साफ महिला च्याम्पियनसिप उपाधि जोगायो, पहिलो पटक एसियन कपमा स्थान बनायो र यू–२० टोलीलाई पनि साफ उपाधि तथा पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने मौका पायो। यस क्रममा उनले खेलाडी विद्रोहको संकट पार गर्दै अनुभवी खेलाडीको अनुपस्थितिका बीच पनि नतिजा दिलाउन सफल भए।
सबैभन्दा महत्त्वपूर्ण कुरा वेस्ट ह्याम युनाइटेड पूर्वमिडफिल्डर बटलरले बंगलादेश महिला टोलीलाई आकर्षक आक्रामक फुटबल र हार नमान्ने मानसिकता सेट गर्दिसकेका छन्।
तर, आइतबारको हारले उनको टिमलाई रणनीति परिमार्जन, शारीरिक तयारी सुधार र प्राविधिक गुणस्तरमा अन्तर घटाउने आवश्यकता रहेको पाठ सिकाएको छ। अस्ट्रेलियातर्फको घडी अब छिट्टै घुम्दै छ र यो यात्रामा सफलता पाउन सुधार अपरिहार्य हुनेछ।







-1762856022963.jpg&w=3840&q=75)





