सिक्नुपर्ने रहेछ भन्ने पाठ सिकेर फर्किए यामप्रसाद

काठमाडौं। एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपाली टोलीले मात्र सपना देखेन। त्यो सपना पूरा गर्न चुनौतीलाई पनि वास्तविक रूपमा कति सामना गर्नुपर्छ भन्ने गतिलो पाठ सिक्यो।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले स्वीकार गरेअनुसार विश्वकप कप र एसियन च्याम्पियन बनेका उत्तर कोरियाजस्ता टिमसँग खेल्नु भनेको अनुभव लिनु मात्र होइन, सिकाइको अवसर पनि हो।
उनले भने,‘त्यस्तो स्तरको टिमसँग भिड्दा हाम्रा खेलाडीहरूले आफूलाई कहाँ राख्ने र कसरी खेल्ने भन्ने कुरा बुझ्न पाए। डिफेन्सलाई बलियो बनाउने योजना बनाएपनि कोरियाको स्तर निकै माथि भएकाले त्यो सहज थिएन।’
भुटानसँग पराजयसरह १–१ गोलको बराबरी खेलेको नेपालले साउदी अरबमाथि १–० को कठिनपूर्ण जित हासिल गरेको थियो। त्यसैले अन्तिम खेलमा आफ्नो लक्ष्य पूरा गर्न उत्तर कोरियालाई हराउनैपर्ने समीकरण बनेको थियो। साउदीसँगको जितपछि यामप्रसादले अट्याकिङ फुटबल खेल्ने योजना सुनाए पनि उत्तर कोरियाविरुद्ध त्यो जोखिम लिन चाहेनन्।
उनले कम गोल खान डिफेन्सिभ खेल्ने योजना बुने। त्यहीअनुसार टोलीमा चार परिवर्तन गर्दै ५–३–२ को बलियो रक्षात्मक फर्मेसन प्रयोग गरे।
तर, त्यो सफल भएन र ११–० को फराकिलो हार बेहोर्यो। योसँगै उत्कृष्ट उपविजेता बनेर एसियन कपमा पुग्ने सपना बुनेको नेपाल समूह चरणबाटै बाहिरियो।
भुटानसँगको पहिलो खेलमा उनले भनेझैं धेरै प्रयोग गरिएको थियो। दुई साताअघि बंगलादेशको ढाकामा सम्पन्न यु–२० महिला साफ च्याम्पियनसिपमा भुटानलाई ६–१ र ८–० ले हराएको नेपालले यसपल्ट पनि त्यस्तै आक्रामक खेल खेल्ने रणनीति अपनाएको थियो।
त्यसैले तीन खेलाडीलाई अगाडि राखेर मैदान उत्रिएको थियो। तर, ४० सेकेन्डमै अग्रता लिए पनि भुटान खेलमा फर्कियो र नेपाललाई निकै दबाबमा राख्यो।
प्रशिक्षक यो आफ्नो गल्ती रहेको स्वीकार्दैनन्। बरु वातावरण, दर्शक र मैदानको अवस्था जस्ता कुराले पनि परिणाममा प्रभाव पारेको तर्क गर्छन्। उनी भन्छन्, ‘फुटबलमा कहिले सफल हुन्छौं त कहिले असफल। यो नै खेलको वास्तविकता हो।’
ट्याक्टिकल पक्षमा भने नेपाली टोलीमा समस्या देखियो। प्रशिक्षकको रणनीति कतै देखिएन। खेलाडीहरूबीच समन्वय मिलेन। यो व्यक्तिगत कमजोरी मात्र होइन, प्रशिक्षणको निरन्तरता नहुँदा देखिएको समस्या हो। साफ र एएफसीका प्रतियोगिताबीचमा पनि ठूलो भिन्नता छ।
साफमा भारतजस्तो बलियो टोली थिएन। बंगलादेश नेपालकै स्तरको थियो। भुटान र श्रीलंकाभने कमजोर टोली। तर, एएफसीको छनोट प्रतियोगितामा साउदी र उत्तर कोरियाजस्तो टोली थपिए। यसले खेलाडीहरूलाई थप चुनौती दिएको यामप्रसाद तर्क गर्छन्।
तयारीको अवधिमा ४० देखि ४५ दिन भए पनि प्रतियोगिताभन्दा पहिले मैत्रीपूर्ण खेल खेल्ने मौका नपाउनु ठूलो कमजोरी थियो। उनी यो कुरा स्वीकार्छन्। यी सबै कुरा मिलाएर हेर्दा यो यात्रा नेपाली महिला यु–२० टोलीका लागि अनुभव र सिकाइको अवसर बन्यो।
सन् २०३१ मा विश्वकप खेल्ने ठूलो सपना छ। तर, त्यो सपना पूरा गर्न दीर्घकालीन योजना, लगानी र समर्पण आवश्यक छ। अहिले भने एन्फाले सपना देखाउने काम त गरिरहेको छ, तर त्यो सपना पूरा हुने जग अझै कमजोर छ। त्यसैले बलियो लगानी चाहिने उनी बताउँछन्। ‘लगानी गर्यो भने त्यो अनुसारको नतिजा नै आउने रहेछ। अहिले हाम्रो नानीहरूले धेरै कुरा सिक्नुपर्छ भन्ने बुझ्यौं,’ उनले भने।







-1762856022963.jpg&w=3840&q=75)





