मेसीबिना चलेन मियामी

काठमाडौं। लुइस मुरिएल र मार्टिन ओहेडाको उत्कृष्ट प्रदर्शनमा ओरल्यान्डो सिटीले सोमबार बिहान भएको मेजर सकर लिग (एमएलएस) मा इन्टर मियामीलाई ४–१ ले पराजित गरेको छ। मुरिएलले दुवै हाफमा एक–एक गोल गरे भने ओहेडाले एक गोल र एक असिस्ट प्रदान गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान गरे।
खेलको दोस्रो मिनेटमै मुरिएलले गोल गर्दै अग्रता दिलाए पनि तीन मिनेटमै यानिक ब्राइटको व्यक्तिगत प्रयासबाट इन्टर मियामी बराबरीमा फर्कियो। मुरिएलको पहिलो गोलमा असिस्ट दिएका ओहेडाले यससँगै लगातार १४ खेलमा गोल योगदान पुर्याउने आफ्नो क्लबहको कीर्तिमानलाई कायम राखे। जसमा यो उनको १३औं असिस्ट थियो।
दोस्रो हाफको पाँचौं मिनेटमा मुरिएलले आफ्नो प्रतियोगिताको आठौं गोल गर्दै स्कोर २–१ बनाए। ५८औं मिनेटमा ओहेडाले सिजनको १४औं गोल गर्दै अग्रता फराकिलो बनाए, जससँगै उनको गोल संख्या २७ पुगेको छ। यो लिगमा सबैभन्दा धेरै हो। अन्तिमतर्फ ८८औं मिनेटमा मार्को पासालिचले व्यक्तिगत प्रयासबाट गोल गर्दै जित सुनिश्चित गरे। यो उनको पहिलो सिजनमै १०औं गोल हो।
खेलमा ओरल्यान्डोका गोलरक्षक पेद्रो गालिसेले ४ बचाउ गरे भने मियामीका ओस्कार उस्तारीले ८ बचाउ गरे। इन्टर मियामीका स्टार लिओनल मेसी दायाँ खुट्टाको चोटका कारण अनुपस्थित रहे। ३८ वर्षीय मेसी अगस्ट २ मा लिग्स कपमा नेकाक्साविरुद्ध खेल्दा घाइते भएका थिए। यस सिजन उनले १८ खेलमा १८ गोल गर्दै नैसविलका स्याम सर्रिजसँग शीर्ष स्कोररको बराबरीमा छन्।
यो जितसँगै ओरल्यान्डो सिटी पूर्वी सम्मेलनको चौथो स्थानमा उक्लिएको छ। प्रशिक्षक ओस्कार पारेजालाई सबै प्रतियोगिता मिलाएर १०० जित पुर्याउन अब मात्र एक जित आवश्यक छ।
इन्टर मियामी छैटौं स्थानमा रहेको छ। अब मियामीले शनिबार लस एन्जलस ग्यालेक्सीको आतिथ्य गर्नेछ भने ओरल्यान्डो सिटीले स्पोर्टिङ कान्सास सिटीको सामना गर्नेछ।





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

