काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल)ले मोटरिङ एकेडेमीको घोषणा गरेको छ ।
काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए)का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरु तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको उपस्थितीमा एकेडेमीको घोषणा गरिएको हो ।
मोटरिङ्ग नेपाल तथा नेपाल अटोमोबाइल्स एसोसिएसनले अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम), अन्तर्राष्ट्रिय रोड फेडेरेसन (एफआरएफ) तथा अन्तर्राष्ट्रिय पावरबोट युनियन (युआइएम) जस्ता अटोमोवाइल, सडक तथा यातायात श्रेत्रका अन्तर्राष्ट्रिय फेडेरेसनहरुसंग समेत सहकार्य गर्ने गरी काठमाडौंमा ‘मोटरिङ एकेडेमी’ सुरु गरिएको हो ।
एकेडेमीले इनोभेसन, रेसिङ, राइडिङ, ड्राइभिङ र टुरिङ सम्बन्धी सीप विकासलाई प्रबर्द्धन गर्ने, सुरक्षा बढाउने र मोटर स्पोर्ट्सप्रतिको रुचि तथा उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
‘मोटरिङ एकेडेमीले सवारी साधन मर्मत, सुरक्षा र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी पाठ्यक्रमहरू सञ्चालन गर्नेछ, जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र सवारी साधनको मर्मतसम्बन्धी सचेतना बढाउनु हो ।’ नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले भनेका छन् ।
अटोमोवाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्घान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागी मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ ।
‘रेसिङ अन्तर्गत यसको सीप विकास, सेफ्टी ट्रेनिङ, ट्यालेन्ट पहिचान र नेटवर्किङ लगायतका कार्य हुनेछ । मोटरिङ एकेडेमीले मोटर स्पोर्ट्स इन्जिनियरिङ, रेसिङ्गका प्रविधि तथा रणनीति र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी विशेष पाठ्यक्रमहरू उपलब्ध गराउनेछ, जसको लक्ष्य प्रतिस्पर्धात्मक रेसिङमा सेफ्टी कल्चरलाई प्रोत्साहन गर्नु र ट्र्याकमा सहभागीहरुको सीप अभिवृद्धि गर्नु हो ।’ भट्टराईले थपे ।
एकेडेमीमार्फत सञ्चालन गरिने कामका लागि एक व्यवस्थापन समिति रहने छ । व्यवस्थापन समितिको नेतृत्व ईन्जिनियर महेश अधिकारीले गर्नेछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट एक जना, मोटरिङ नेपालबाट एक जना, एक जना विज्ञ सदस्य र एक जना व्यवस्थाक सहित ७ जनाको एक समिति रहने छ । यसले सम्पूर्ण नीतिगत, व्यवस्थापकीय र दैनिक कार्य सञ्चालन गर्नेछ ।
विश्वका अटोमोबाइल क्षेत्रमा एफआईए इन्स्टिच्युट तथा एफआईए फाउन्डेसन, एफआईएम एकेडेमी, युआईएम एकेडेमी लगायतका विभिन्न अध्ययन अनुसन्धानसँग सम्बन्धित संस्थाहरुले यो क्षेत्रमा कार्य गरिरहेको सन्दर्भमा नेपालमा प्रस्ताव गरिएको यो एकेडेमीले इनोभेसन, डाइभ टुरिजम, रेसिङ लगायतको संयोजन गर्ने बताईएको छ ।
एकेडेमीको सुरुवातका लागी एफआइएमबाट पाँच हजार यूरो सहयोग भएकोमा नेपाल अटोमोवाइल्स एसोसिएसनले पचास लाख बराबरको समाग्री सहयोग गर्ने बताईएको छ ।
एकेडेमीको सचिवालय संचालन मोटरिङ्ग नेपालले गर्ने बताईएको छ । मोटरिङ्ग नेपाल, नेपालको अटोमोवाइल क्षेत्रको एउटा सामाजिक संस्था र नेपाल अटोमोवाइल्स एसोसिएसनको एसोसिएट मेम्बर समेत हो ।