जित्नै पर्ने खेलमा ‘डिफेन्सिभ’ खेल खेल्दै नेपाल

काठमाडौं। नेपालले एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलमा थप सावधानी अपनाउने भएको छ।
भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा नेपालले केही बेरपछि साबिक विजेता उत्तर कोरियाको सामना गर्दैछ। उत्तर कोरिया र नेपाल समूह ‘ए’ मा अपराजित टोली हुन्।
तर, दुवै खेल जितेको उत्तर कोरिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ४ अंक जोडेको नेपाल भने दोस्रो स्थानमा छ।
साउदी अरब र भुटान भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। उत्तर कोरियाले साउदीविरुद्ध १५–० र भुटानविरुद्ध १०–० को एकतर्फी जित निकालेको थियो।
तुलनात्मक रूपमा कमजोर रहेको भुटानविरुद्ध नेपालले १–१ गोलको बराबरी खेलेको थियो। साउदीविरुद्ध भने नेपालले अन्तिम समयमा गोल गर्दै ३ अंक बटुल्यो।
त्यही ४ अंकको भरमा नेपालको एसियन कप पुग्ने सम्भावना जीवित बनेको हो। तर, नेपाललाई उत्तर कोरियाविरुद्ध जितको विकल्प हुनेछैन। विश्वकप र एसियन कपको विजेता टोली उत्तर कोरिया नेपालका लागि सजिलो प्रतिद्धन्दी होइन।
आक्रामक खेल खेल्ने यो टोलीविरुद्ध मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले कम गोल खान डिफेन्सिभ खेल्ने योजना बुनेका छन्।यसपटक उनले टोलीमा चार परिवर्तन गर्दै ५–३–२ को बलियो रक्षात्मक फर्मेसन प्रयोग गरेका छन्।
साउदीविरुद्धका सुरुआती ११ मै खेलेका समीक्षा मगर र मनिषा सेनको स्थानमा उनले दुई डिफेन्डर माया मास्के र सजिना स्याङ्तानलाई सुरुआती ११ मा ल्याएका छन्।
यी दुईलाई नियमित डिफेन्डर गंगा रोकाया, सरिता नाथ र सिम्रन राईले साथ दिने छन्। गोलपोस्ट भने लिला जोशीले नै सम्हाल्ने छिन्। मिडफिल्डर कुशुम खतिवडाको स्थानमा सुक्रिया मियाँले सुरुआती ११ मा स्थान बनाएकी छन्। कप्तान बिर्सना चौधरी मिडफिल्डमा नै रहने छिन्।
अघिल्लो खेलमा फरवार्ड खेलेकी वर्षा ओली मिडफिल्डमा तानिएको छ। यस्तै, पूर्णिमा राई आफ्नो स्थानमा फर्किएकी छन्। बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा १० गोल गर्दै सबैको ध्यान तानेकी पूर्णिमा अघिल्लो खेलमा साउदी अरबविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा देखिएकी थिइन्।
तर, यसपटक सुरुआती ११ मै फर्किंदै महत्त्वपूर्ण आक्रमणको जिम्मेवारी सम्हाल्नेछिन्। यो रणनीति अनुसार नेपालले बलियो डिफेन्सलाई आधार बनाउँदै अवसर खोज्ने र निर्णायक क्षणमा आक्रमणमा जान सक्ने योजना बनाएको छ।
जित्नै पर्ने परिस्थितिमा यो रणनीतिले सुरुआतदेखि अन्तिम ह्विसरसम्म मुख्य प्रशिक्षक यामको स्तर जाँच्ने देखिन्छ।







-1762856022963.jpg&w=3840&q=75)





