काठमाडौं। साउदी अरबको फुटबल लिगले आफ्नो पछिल्लो चर्चित खेलाडी अनुबन्ध गरेको छ। लिभरपुलका स्ट्राइकर डार्विन नुनेज शनिबार अल–हिलालमा आधिकारिक रूपमा भित्रिएका छन्।
उरुग्वे अन्तर्राष्ट्रिय खेलाडीको मूल्य करिब ४६.३ मिलियन पाउन्ड (६२ मिलियन अमेरिकी डलर) रहेको बताइएको छ। उनले तीन वर्षको सम्झौता गरेका छन्।
साउदी अरबको सबैभन्दा सफल क्लब अल–हिलालले यसअघि ब्राजिलियन स्टार नेयमारलाई जनवरीमा विदा गरेपछि अर्को ठूला खेलाडीको खोजी गर्दै आएको थियो। क्लब वर्ल्ड कपअघि म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले प्रस्ताव अस्वीकार गरेका थिए।
नेपोली पूर्वस्ट्राइकर भिक्टर ओसिमहेनप्रति पनि चासो देखाइएको थियो। नुनेज लिभरपुलमा प्रिमियर लिगमा मिश्रित समय बिताएर बिदा भएका हुन्। उनले केही सानदार क्षणहरू सिर्जना गरे पनि पहिलो रोजाइको सेन्टर फरवर्डका रूपमा आफूलाई स्थापित गर्न सकेनन्।
उनले १४३ खेलमा ४० गोल गरेका छन् र गत सिजन प्रिमियर लिग उपाधि जितेका थिए। तर, वर्षको सुरुआतपछि उनले एक लिग खेलमा मात्र पहिलो रोजाइमा खेल्ने मौका पाए। गत सिजन कुल ४७ खेलमा ७ गोल मात्र गरे।
यो समरमा लिभरपुलले आक्रमण पंक्तिमा हुगो एकिटिके र फ्लोरियन विर्ट्जलाई अनुबन्ध गरेको छ. साथै न्युक्यासलका स्ट्राइकर एलेक्जान्डर इसाकप्रति पनि चासो देखाएको छ। त्यसका कारण नुनेजको स्थान अनिश्चित भएको थियो।
सन् २०२२ मा क्रिस्टियानो रोनाल्डो अल–नासरमा पुगेपछि युरोपका शीर्ष लिगका थुप्रै खेलाडीहरू साउदी अरबतर्फ आकर्षित भएका छन्। करिम बेन्जेमा, साडियो माने र रियाद महरेजजस्ता ठूला नाम पनि त्यही बाटो हिँडेका छन्। साउदी अरबले विश्व फुटबलमा ठूलो शक्ति बन्न महत्वाकांक्षी अभियान सञ्चालन गर्दै आएको छ।
क्लब वर्ल्ड कपमा म्यानचेस्टर सिटीलाई हराएर ठूलो उलटफेर गरेको अल–हिलालसँग पहिले नै कालिदु कुलेबाली, सेर्ज मिलिन्कोभिच–साभिच, जोआओ कान्सेलो र आलेक्सान्दर मिट्रोभिच जस्ता स्टार खेलाडीहरू छन्। क्लबको प्रशिक्षक दुई पटकको च्याम्पियन्स लिग उपविजेता सिमोने इनजाघी हुन्।
अल–हिलालले अहिलेसम्म १९ पटक साउदी लिग उपाधि र ४ पटक एसियाली च्याम्पियनसिप जितेको छ। तर, गत सिजन अल–इत्तिहादले यो टोलीलाई उछिनेको थियो।