काठमाडौं। एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न नेपाली टोली भुटानको थिम्पु उड्नु अघि यति कठिन यात्राको कल्पना पनि गरेको थिएन।
दुई साताअघि मात्र बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा भुटानलाई सहज हराउँदै र १४ गोल वर्षा गर्दै उत्कृष्ट प्रदर्शन गरेकाले आत्मविश्वास चरममा थियो।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङको योजना स्पष्ट थियो– भुटान र साउदी अरबमाथि सहज जित निकाल्ने, अनि उत्तर कोरियासँग बराबरी गर्दै समूह ‘ए’को विजेता या उत्कृष्ट उपविजेता बन्दै एसियन कपको टिकट पाउने।
उनले सुनाएका थिए,‘नेपाल अध्याँरोमा दौडिने घोडा हो। त्यसैले यसपल्ट यो टोली समूहको डार्क हार्स बन्छ।’ तर, कथा चामलिमिथाङ रंगशालामा पहिलो खेलदेखि नै बदलियो। अध्याँरोमा दौडिने घोडाले फ्लड लाइटमा राम्रो खेल पस्किन सकेन र घरेलु टोली भुटानसँग १–१ को बराबरी खेल्यो।
यो नतिजा हारसरह रह्यो। सोच्दै नसकेको नतिजा हात परेसँगै नेपाली टोलीमाथि दबाब बन्यो। दोस्रो खेलमा भुटानभन्दा कमजोर मानिएको साउदी अरबविरुद्ध ५ परिवर्तन गर्दा पनि नेपालले मुस्किलले १–० को जित हात पार्यो। यही साउदीलाई उत्तर कोरियाले १५–० ले हराइसकेको थियो।
दुई खेलबाट ४ अंक बटुले पनि नेपालको उत्कृष्ट उपविजेता भएर अघि बढ्ने बाटो बन्द भइसकेको छ। अब बाँकी छ एक मात्र विकल्प। त्यो हो आइतबार उत्तर कोरियाविरुद्ध जित। यो नेपालका लागि यस्तो नतिजा ल्याउनुपर्ने खेल हुनेछ, जुन उनीहरूले कल्पनासमेत गरेका छैनन्।
उत्तर कोरिया सामान्य छैन। यो तीनपल्ट विश्वकप र दुईपल्ट एसियन कप जितेको टोली हो। छनोटमा अपराजित र निर्दयी टोली बनिसकेको छ। यस प्रतियोगितामा भुटानलाई १०–० र साउदीलाई १५–० ले हराइसकेको छ। दुई खेलमा २५ गोल गर्दै एक गोल पनि नखाएको उत्तर कोरियाको गति आँधीझैँ छ, जो रोकिने सम्भावना न्यून देखिन्छ।
नेपालका लागि समीकरण सरल तर कठिन छ। बराबरी भए पनि सपना टुट्नेछ, हार त अझै महँगो हुनेछ। बरू जितले सपनाको ढोका खोल्नेछ। अर्कोतर्फ, उत्तर कोरियालाई बराबरी मात्र भए पनि पर्याप्त बन्नेछ। यस्तोमा प्रशिक्षक यामप्रसाद भन्छन्,‘उत्तर कोरिया बलियो टोली हो। साउदी अरबलाई १५ गोल हानेको छ। तर, ११ भर्सेस ११ को खेल हो। म काउन्टर अट्याकमा खेलाउँछु।’
यो खेल ९० मिनेटको फुटबल मात्र होइन। यो नेपाली खेलाडीहरूको आत्मविश्वासको अन्तिम परीक्षा हो। टोलीले फुटबलमा देखेको सपनाको निर्णायक क्षण पनि यही खेल हुनेछ।
त्यसैले उत्तर कोरियाको अपराजित यात्राको किल्ला भत्काए एसियन कपको ढोका खुल्ने छ। पराजित भए चामलिमिथाङको मैदानमै नेपालको यात्रा टुङ्गिनेछ।