काठमाडौं। भुटानको चामलिमिथाङ रंगशालामा एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा आइतबार दिउँसो एउटा यस्तो भिडन्त हुन लाग्दैछ, जसको परिणामले नेपालको महिला फुटबलको इतिहास नै बदल्न सक्छ।
मैदानको एकछेउमा छ साबिकको विजेता उत्तर कोरिया। यो टोलीसँग कुनै दयाभाव छैन। विपक्षीमाथि गोल वर्षा गर्दै आफ्नो रवाफ देखाइसकेको छ। अर्कोतर्फ छ नेपाल। यो सपनाले भरिएको टिम हो। नेपालको नजर एसियन कपको टिकटमा गडिएको छ।
शुक्रबारको खेलमै उत्तर कोरियाले फेरि आफ्नो प्रभुत्व देखायो। भुटानविरुद्ध १०–० को भारी जित निकाल्यो। उत्तर कोरियाले यो खेलमा मात्रै होइन, साउदी अरबविरुद्ध त १५–० को दमदार जित निकालेको थियो।
दुई खेल, दुई जित, २५ गोल प्रतियोगितामा उत्तर कोरियाको उपस्थिति कतिको बलियो छ यही नतिजाले प्रष्ट पार्छ। अर्को कुरा यो टोलीले अहिलेसम्म एक गोल पनि खानु परेको छैन। उत्तर कोरियाको गति यस्तो छ, जस्तो आँधीले सागर चिरिरहेको होस्।
नेपालले पनि आफ्नो सपना जीवित राखेको छ। दुई साता अघिमात्रै दुई खेलमा १४ गोल वर्षाएको नेपालले भुटानसँग नसोचेको खेल पस्कियो। घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल साउदी अरबविरुद्ध १–० को संघर्षपूर्ण जितसँगै दुई खेलबाट ४ अंक बटुल्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ। अब भने यो अंकतालिका कुनै अर्थ राख्दैन। सबै कुरा आइतबारको खेलमै निर्भर छ।
नेपालका लागि समीकरण सरल तर कठिन छ। जित मात्र जित। बराबरी भए पनि सपना टुट्नेछ, हार त झन् अझै महँगो हुनेछ। अर्कोतर्फ उत्तर कोरियालाई बराबरी मात्र भए पनि पर्याप्त छ।
तर, तीनपल्ट विश्वकप र दुईपल्ट एसियन कप जितिसकेको उत्तर कोरियाको इतिहास र आक्रमणशक्ति हेर्दा यो टोली रोकिने सम्भावना न्यून छ।
आइतबारको यो खेल ९० मिनेटको फुटबल मात्रै होइन। यो एक अन्तिम युद्ध हो। नेपाली खेलाडीहरूको आत्मविश्वासको परीक्षा हो, देशको फुटबल सपनाको निर्णायक क्षण हो र लाखौं दर्शकको धडकनसँग जोडिएको एउटा पर्खाइ हो।
अब प्रश्न यही हो– के नेपालले उत्तर कोरियाको अपराजित यात्राको किल्ला भत्काएर एसियन कपको ढोका खोल्न सक्छ? वा इतिहास फेरि शक्तिशाली टिमकै पक्षमा लेखिनेछ? जवाफ आइतबार दिउँसो मैदानमै देखिने छ।