काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले प्रिमियर लिगको नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन्।
२०२४ को ब्यालोन डी’ओर विजेता रोड्रीले क्लब विश्वकपमा चोट खेपेका थिए। अघिल्लो सिजनको अधिकांश समय एसीएल च्यातिएको कारण उनी मैदानबाट बाहिर बसेका थिए। ग्वार्डिओलाले यसपटकको चोटलाई पनि ठूलो भनेका छन्।
यो चोट यसपटक पेटको मांसपेशीसम्बन्धी भएको अनुमान गरिएको छ। जुन गत जुन ३० मा क्लब विश्वकपमा अल–हिलालसँगको ४-३ को हारमा लागेको हो। दोस्रो हाफमा मैदान प्रवेश गरेका रोड्री अतिरिक्त समयमा खेल छाडेर बाहिरिएका थिए।
‘रोड्रीको स्वास्थ्य सुधार भइरहेको छ। तर, अल–हिलालविरुद्धको अन्तिम खेलमा ठूलो चोट लाग्यो र यो ५–६ हप्तादेखि छ,’ ग्वार्डिओलाले भने, ‘उनी अहिले प्रशिक्षणमा फर्किएका छन् र पछिल्ला २–३ दिनमा अझ राम्रो देखिएका छन्। आशा छ, अन्तर्राष्ट्रिय ब्रेकको समयमा उनी पूर्ण रूपमा फिट हुनेछन्।’
अघिल्लो सिजन रोड्रीको अनुपस्थितिमा संघर्ष गरेको सिटीले २०२५–२६ सिजनको सुरुआत आउँदो शनिबार वुल्भ्सविरुद्ध गर्नेछ। त्यसपछि टोलीले सेप्टेम्बरको अन्तर्राष्ट्रिय ब्रेकअघि टोटनह्याम र ब्राइटनसँग खेल्नेछ।
ग्वार्डिओलाका अनुसार ब्रेकअघि नै रोड्रीले केही मिनेट खेल्ने सम्भावना पनि छ। यसैबीच, सिटीले शनिबार सिसिलीको पालेर्मोमा स्थानीय क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। फिल फोडेन टोलीमा सामेल छैनन्।
‘फिलको प्रदर्शन राम्रो भइरहेको थियो तर उनको खुट्टामा चोट लागेको कारण सावधानी स्वरूप उनीलाई खेलाइएन,’ ग्वार्डिओलाले बताए। उनका अनुसार फोडेन सिजनको पहिलो खेलका लागि तयार हुनेछन्।