काठमाडौं। गत सिजन बार्सिलोना कसैले पराजित गर्न नसक्ने टोली साबित भयो। ६० खेलमा १७४ गोल गर्दै ला लिगा र कोपा डेल रे दुवै उपाधि जित्यो। तर, यसपटक टोली नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा सामरिक युद्धको वाचा गर्दै आएको एक फरक रियल मड्रिडको चुनौतीसँग जुध्नुपर्नेछ।
जर्मन प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनमै युवा स्टार लामिन यमलको प्रेरणामा बार्सिलोनाले स्पेनिस फुटबलमा दबदबा जमायो। यसमा रियलविरुद्ध लगातार चार जितमा १६ गोलको कीर्तिमान पनि समावेश छ।
यसपटक टोलीमा म्यानचेस्टर युनाइटेडबाट ऋणमा ल्याइएका मार्कस रासफोर्ड थपिएका छन्। उनले यमल, रोबर्ट लेवान्डोस्की, राफिन्हा र डानी ओल्मोसहितको आक्रमणलाई झन् बलियो बनाउने विश्वास लिइएको छ।
तर, च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानविरुद्धको अतिरिक्त समयमा भएको हारले बार्सिलोनाको रक्षात्मक कमजोरी उजागर गरेको छ।
बार्सिलोनाले सिजन नयाँ गोलरक्षक जोआन गार्सियासँग सुरु गर्दैछ। उनलाई सहरी प्रतिद्वन्द्वी एस्पानियोलबाट भित्र्याइएको हो। यसले अनुभवी मार्क–आन्द्रे टेर स्टेगनसँगको ठूलो विवाद पनि जन्माएको छ। उनलाई हालै चोटपटकसम्बन्धी विवादका कारण कप्तानीबाट हटाइएका थिए।
अलोन्सोसँग च्याम्पियनलाई चुनौती दिने नयाँ हतियारहरू तयार छन्। यसपल्ट उनले लिभरपुलबाट आएका राइट डिफेन्डर ट्रेन्ट एलेक्जान्डर–आर्नोल्ड र नेदरल्यान्ड्समा जन्मिएका २० वर्षीय स्पेनिस सेन्टर–ब्याक डिन हुइसेनलाई भित्र्याएका छन्। हुइसेनलाई रियलले बर्नमाउथबाट ५० मिलियन पाउन्डको रिलिज क्लज सक्रिय गरेर ल्याएको हो।
साथै, बेन्फिकाबाट ५० मिलियन युरोमा स्पेनिस लेफ्ट डिफेन्डर आल्भारो कारेरालाई अनुबन्ध गर्दै अघिल्लो उपाधिविहीन सिजनपछि डिफेन्सलाई मजबुत बनाइएको छ।
नयाँ प्रशिक्षकले आक्रमणको समस्या पनि समाधान गर्नुपर्नेछ। किलियन एमबाप्पे र भिनिसियस जुनियरले अझैसम्म सँगै आफ्नो पूर्ण क्षमता देखाउन सकेका छैनन्।
त्यति मात्र होइन, क्लब विश्वकपमा एकेडेमीको उत्पाद गोन्जालो चम्किएपछि रोड्रिगो, एन्ड्रिक र ब्राहिम डियाजले समेत खेल्ने समयको अपेक्षा गरिरहेका छन्, जसले अग्रपंक्तिमा छनोटको चुनौती थपेको छ।
एट्लेटिको माड्रिडले चार वर्षको उपाधि खडेरी तोड्ने लक्ष्यसहित सिजन सुरु गर्दैछ। त्यसैले १३ वर्षदेखि प्रशिक्षक डिएगो सिमियोनेमाथि अहिलेसम्मकै उच्च दबाब थपिएको छ।
स्पेनका एलेक्स बाएना (५० मिलियन युरो) र अर्जेन्टिनाका थियागो आल्माडालाई (कोपा लिबर्टाडोरेस च्याम्पियन बोटाफोगोबाट) अनुबन्ध गर्दै जुलियन अल्भारेज, एन्टोइन ग्रिजमान, कोनोर ग्यालाघर र जान ओब्लाकजस्तो स्टार खेलाडीहरू टोलीमा थप गरेको छ।
सिजन अगस्ट १५ शुक्रबार सुरु हुनेछ। पहिलो दिन गिरोनाले रायो भालेकानो र भिल्लारियलले रियल ओभिएडोलाई स्वागत गर्नेछन्। बार्सिलोना अगस्ट १६ मा मायोर्का जानेछ, एट्लेटिकोले अगस्ट १७ मा एस्पानियोलसँग खेल्नेछ भने रियलले अगस्ट १९ मा ओसासुनालाई आतिथ्य दिनेछ।