काठमाडौं। बार्सिलोनाले गोलरक्षक मार्क–आन्द्रे टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनाएको छ।
क्लबले शुक्रबार घोषणा गर्दै टेर स्टेगनले आफ्नो शल्यक्रियासम्बन्धि मेडिकल प्रतिवेदन ला लिगामा पठाउन अनुमति दिएको जनाएको हो।
यो घोषणा टेर स्टेगनले आफूलाई क्लबले नयाँ खेलाडी दर्ता गर्न नसक्नुको दोषी ठहर्याउने प्रयासबारे आलोचना गरेपछि आएको हो। उनले आफ्नो पछिल्लो कम्मरको शल्यक्रिया र निको हुने समयसीमा क्लबकै स्वीकृतिअनुसार तय भएको स्पष्ट पारेका थिए।
३३ वर्षका टेर स्टेगनलाई बिहीबार मात्र कप्तानीबाट हटाइएको थियो। तर, शुक्रबारको निर्णयसँगै फेरि उनको कप्तानी फिर्ता भएको हो।
‘मार्क–आन्द्रे टेर स्टेगनले आफ्नो शल्यक्रियासम्बन्धि मेडिकल प्रतिवेदन ला लिगामा पठाउन आवश्यक स्वीकृति पत्रमा हस्ताक्षर गरेका छन्,’ क्लबको विज्ञप्तिमा भनिएको छ,‘अनुशासनात्मक मुद्दा बन्द गरिएको छ र उनी पुनः पहिलो टोलीका कप्तान बनेका छन्।’
कम्मरको शल्यक्रियापछि अपेक्षित निको हुने समयबारे मतभेद देखा परेपछि क्लबले मंगलबार टेर स्टेगनविरुद्ध अनुशासनात्मक कारबाही सुरू गरेको थियो।
बार्सिलोनालाई उक्त चोटसम्बन्धि प्रतिवेदन लिगमा बुझाउन टेर स्टेगनको हस्ताक्षर आवश्यक थियो। यसले टोलीको तलब सीमामा छुट दिलाई अन्य खेलाडी दर्ता गर्न सजिलो बनाउने र आर्थिक निष्पक्ष खेल नियम उल्लंघन नगर्न मद्दत गर्ने थियो।
शल्यक्रिया अघि टेर स्टेगनले करिब तीन महिना निको हुन लाग्ने बताएका थिए। क्लबले भने आधिकारिक रूपमा कुनै समयसीमा नबताई शल्यक्रिया सफल भएको र उनको स्वास्थ्य लाभको प्रगति हेरेर मात्र फिर्ती मिति तय हुने जनाएको थियो।
बार्सिलोनाले यसै वर्ष जुनमा एस्पानियोलका गोलरक्षक जोआन गार्सियालाई अनुबन्ध गरेको छ। टोलीमा रहेका अन्य गोलरक्षकहरू अनुभवी वोइचेक शेज्नी र इनाकी पेञा हुन्।
टेर स्टेगनले अघिल्लो सिजनको अधिकांश खेल घुँडाको चोटका कारण गुमाएका थिए। सन् २०२३ मा पनि उनी अर्को कम्मर शल्यक्रियाका कारण करिब दुई महिना बाहिर बसेका थिए। अघिल्लो सिजनमा उनको स्थानमा पेञा र ३५ वर्षका शेज्नीले खेल खेलेका थिए।
गत सिजनको ला लिगा विजेता बार्सिलोना यस हप्ता एसियाली प्रि–सिजन भ्रमण सकेर मंगलबार स्पेन फर्किएको हो।