काठमाडौं। प्यालेस्टाइनका पूर्वराष्ट्रिय फुटबल खेलाडी सुलेमान अल–ओबैदको गोली लागेर मृत्यु भएको छ। उनलाई ‘प्यालेस्टिनी पेले’ भनेर चिनिन्थ्यो।
गाजा स्ट्रिपमा बुधबार मानवीय सहायता लिन लाइनमा उभिएका बेला उनीमाथि इजरायली पक्षले चलाएको गोली लागेको प्यालेस्टाइन फुटबल संघ (पीएफए) ले जनाएको छ।
४१ वर्षीय ओबैद दक्षिणी गाजामा सहायता पर्खिरहेका नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा मारिएका हुन्। गाजामा भोकमरी संकट तीव्र भइरहेका बेला संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले गत महिनामात्रै मे महिनाको अन्त्यदेखि हालसम्म खाद्यान्न सहायता लिन खोज्दा एक हजार ३०० भन्दा बढी प्यालेस्टिनी नागरिकलाई इजरायली सेनाले मारिसकेको जनाएको थियो।
गाजास्थित खदामत अल–साती क्लबका पूर्व स्टार ओबैदले प्यालेस्टाइन राष्ट्रिय टिमका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए। आफ्नो लामो करिअरमा उनले १०० भन्दा बढी गोल गरेका थिए, जसले उनलाई प्यालेस्टिनी फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक बनायो।
मध्यपंक्ति खेलाडी ओबैदले पश्चिम तटको अल–अमारी यूथ सेन्टर क्लबका लागि पनि खेलेका थिए। इजरायलले १९६७ देखि कब्जा गर्दै आएको पश्चिम तटमा बसोबास गरिरहेका बेला सन् २०१० मा उनी गाजाबाट आएका राष्ट्रिय टिमका ६ खेलाडीमध्ये एक थिए, जसलाई मोरिटानियामा हुने मैत्री खेलका लागि यात्रा गर्न जोर्डनको सीमाबाट ‘सुरक्षाका कारण’ फर्काइयो।
त्यसबेला इजरायली अधिकारीले उनीहरूले पश्चिम तटमा खेल्नका लागि आवश्यक विशेष अनुमति नवीकरण नगरेको आरोप लगाएका थिए। ‘राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा खेल्ने सपना कुनै पनि खेलाडीको हुन्छ, त्यसबाट रोकिँदा म निकै दुःखी भएँ,’ ओबैदले त्यतिबेला एएफपीलाई भनेका थिए, ‘हामी पनि विश्वका अन्य खेलाडीझैं परिवारसहित स्वतन्त्र रूपमा यात्रा गर्न चाहन्छौं।’
गाजा सिटीमा जन्मिएका ओबैद विवाहित थिए र उनका पाँच सन्तान छन्। पीएफएका अनुसार अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धमा खेल र स्काउटिङ क्षेत्रका ६६२ जनाको मृत्यु भइसकेको छ, जसमा ३२१ जना फुटबल क्षेत्रका छन्।
गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ६१ हजार २५८ जना मारिएका छन्। उता, हमासको आक्रमणमा इजरायलमा एक २१९ जनाको मृत्यु भएको एएफपीको आधिकारिक तथ्यांकमा जनाइएको छ।