साउदीमाथि नेपालको कठिन जित
-1754646824.jpg&w=3840&q=75)
काठमाडौं। सुक्रिया मियाँको निर्णायक गोलसँगै नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि १–० को कठिन जित निकालेको हो। योसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ।
पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ। उत्तर कोरियाले पहिलो खेलमै साउदीमाथि १५–० को फराकिलो जित हात पारेको थियो। साउदी एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिसकेको छ। भुटानले भने शुक्रबार नै उत्तर कोरियासँग खेल्ने छ।
यस सिंगल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ। उत्तर कोरिया छनोटनजिक छ।
समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई साउदीविरुद्ध उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुपर्ने दबाब थियो। तर, नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिन पर्यो।
३७औं मिनेटमा नेपालले सुरुआती अग्रता लिने मौका पाएको थियो। साउदीका डिफेन्डर बास्माह अल्शनाइफीले पेनाल्टी बक्सभित्र सेनु परियारलाई तानेर लडाएपछि नेपालले गोलको अवसर पायो।
तर, स्ट्राइकर मीना देउवा पेनाल्टी प्रहार गर्नेबेला चिप्लिइन् र साउदीकी गोलकिपरले सहजै ड्राइभ लगाएर बल बचाइन्। त्यसपछि पनि नेपालले साउदीलाई दबाब दिएको थियो। तर, गोल गर्न भने सकेन।
दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा अनमार्क रहेकी सुक्रियाले गोल गर्दै नेपाललाई सान्त्वना दिलाइन्। मीनाले दिएको क्रस बललाई पेनाल्टी बक्सभित्र रहेकी पूर्णिमा राईले छाडेकी थिइन्। उक्त बललाई सुक्रियाले सहजै गोल गरिन्। अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्ने छ।










-1762856022963.jpg&w=3840&q=75)


