काठमाडौं। लन्डनको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा मंगलबार एउटा अनौठो दृश्य देखियो।
‘द हन्ड्रेड २०२५’ को उद्घाटन खेलमा मैदानमा एक स्याल छिरेपछि खेल केही समयको लागि रोकिएको थियो।
लन्डन स्पिरिट र गत सिजनका विजेता ओभल इनभिन्सिबल्सबीचको प्रतिस्पर्धा चलिरहेको बेला यो रमाइलो घटना घटेको हो।
खेलको क्रममा इनभिन्सिबल्सले ७२ रनको लक्ष्य पछ्याइरहेका थिए र लन्डन स्पिरिटका बलर ड्यानियल वोरेल बलिङको तयारी गरिरहेका थिए।
त्यतिबेला एक स्याल मैदानमा दौडिँदै पिच पार गर्दै जान थालेपछि दर्शकदीर्घाबाट हाँसो र तालीको आवाज गुञ्जियो।
क्यामेराले तुरुन्तै उक्त स्याललाई क्याप्चर गरेपछि त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो। कमेन्ट्री बक्समा रहेका पूर्वकप्तान इयोन मोर्गन र पूर्व तीव्र गतिका बलर स्टुअर्ट ब्रड पनि यो घटनाबाट छक्क परे र हाँसो थाम्न नसक्ने अवस्थामा पुगे।
खेलको क्लिप स्काई स्पोर्ट्सले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धेरै प्रतिक्रिया जनाए।
केहीले स्याललाई प्रिमियर लिग क्लब लेस्टर सिटीसँग तुलना गरे, जसलाई ‘द फक्सेस’ भनिन्छ। अर्का एक प्रयोगकर्ताले ‘फक्स पक्कै पनि किङ पावर स्टेडियम खोज्दै थियो’ भनेर मजाक गरे।
केहीले त प्रसारण गर्ने फक्स स्पोर्ट्ससँग समेत यस घटनालाई जोडेर ‘पिच साइडबाट प्रत्यक्ष रिपोर्टिङ’ भइरहेको टिप्पणी गरे।
अन्ततः स्याल मैदान पार गर्दै बाहिरिएपछि खेल पुनः सुरु भयो र इनभिन्सिबल्सले ६९ बलमै ८० रनको लक्ष्य सहजै पूरा गर्दै ६ विकेटले विजय हासिल गर्यो।
राशिद खान र सैम करनले ३–३ विकेट लिएर स्पिरिटको इनिङ्स ध्वस्त पारे। अनुभवी खेलाडीहरू डेविड वार्नर, केन विलियमसन, र एष्टन टर्नर समावेश रहेको लन्डन स्पिरिटको ब्याटिङ लस्कर देखियो। राशिद खान ११ रन खर्चिएर ३ विकेट लिएर प्लेयर अफ द म्याच बने।
उनले खेलपछि प्रतिक्रिया दिँदै भने,‘केही महिनादेखि म बलिङ गरिरहेको थिइनँ, तर अघिल्लो दशकको अनुभव अहिले काम आइरहेको छ।’
इनभिन्सिबल्सले सानदार जितसाथ उपाधि रक्षा अभियान सुरु गरे पनि खेलको सबैभन्दा चर्चित क्षण भने मैदानमा देखिएको स्याल नै बन्यो।
यसअघि पनि क्रिकेट खेलमा जनावरहरूका कारण खेल रोकिएको दृष्टान्त छन्। गत फेब्रुअरीमा च्याम्पियन्स ट्रफीको क्रममा कराँचीको नेसनल स्टेडियममा कालो बिरालो पिचमा छिरेको थियो।
त्यसैगरी कोलम्बोमा श्रीलंका र बंगलादेशबीचको खेलमा सर्प देखिएपछि खेल रोकिएको थियो। लंका प्रिमियर लिगमा पनि यस्तै घटना भइसकेको छ।
तर, लर्ड्स मैदानमा देखिएको यो स्यालले क्रिकेटमा अनौठो तर स्मरणीय क्षण थपिदिएको छ। खेलको परिणाम जे भए पनि साँच्चिकै स्यालकै धेरै चर्चा भइरहेको छ।