एन्फाको गज्जब शैली : फेसबुकमा ‘कमेन्ट अफ’, पोस्ट राजनीतिक
-1754403500.png&w=3840&q=75)
काठमाडौं। लामो समयदेखि आफ्ना फेसबुक पोस्टहरूमा ‘कमेन्ट बक्स अफ’ गरेर आलोचनाबाट जोगिन खोज्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) फेरि एकपटक आलोचनाको केन्द्रमा आएको छ। कारण हो, फुटबलसँग सरोकार नराख्ने राजनीतिक बधाई।
सोमबार एन्फाको आधिकारिक फेसबुक पेजबाट नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकोमा बधाई दिइएको पोस्ट सार्वजनिक भयो। यस बधाई सन्देशमा उनीसहित अन्य मन्त्रीका नामसमेत छ। तर, बधाईको पोस्टरमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नाम उल्लेख गरिएको छ। नेम्वाङ स्वयं नेपाली कांग्रेस निकट व्यक्ति मानिन्छन्।
तर, प्रश्न उठ्छ– देशकै फुटबल नियामक निकायले पार्टीगत नेताहरूलाई सार्वजनिक रूपमा बधाई दिनुपर्ने आवश्यकता के हो? त्यो पनि आफ्नो मुख्य काम–कारबाही जनतामाझ स्पष्ट गर्ने सामाजिक सञ्जालमा?
गत महिनादेखि एन्फाको फेसबुक पेज एकतर्फी सूचनाको माध्यम बनेको छ। अधिकांश पोस्टमा कमेन्ट गर्न मिल्दैन। खासगरी सिनियर महिला टोलीको कप्तान र प्रशिक्षक विवाद, कमजोर प्रदर्शन, यु–२० टोलीले साफ महिला च्याम्पियनसिपमा उपविजेता बन्नु र लिग सञ्चालनमा भएको ढिलाइजस्ता विषयप्रति आक्रोश व्यक्त गर्दा एन्फाले आफ्ना डिजिटल च्यानलहरू सुरक्षित बनाउने रणनीति अपनाएको छ।
तर, यस्ता संरक्षित प्लेटफर्महरूमा फुटबलसम्बन्धी विकास र सुधारका कुराभन्दा पार्टी निकटका नेतालाई बधाई दिन प्रयोग गर्न थालिएको छ। यसले एन्फाको प्राथमिकता र उद्देश्यप्रति गम्भीर प्रश्न उठाउँछ।
देशको शीर्ष फुटबल निकायको पेजले सार्वजनिकरूपमा यस्ता राजनीतिक सन्देश सम्प्रेषण गर्नुले संस्थाको तटस्थता र पेशागत धर्मप्रति शंका उठाएको छ।
यही सन्दर्भमा फुटबल समर्थकहरूले प्रश्न उठाउन थालेका छन्,‘एन्फा फुटबलको नेतृत्व गरिरहेको छ कि राजनीतिक सम्बन्धका आधारमा संस्थाको इमेज बनाउँदैछ?’
फेसबुक पेजमा कमेन्ट खुला गरे फुटबलको गुनासो सुन्ने आँट नगर्ने र खेलभन्दा बाहिरका नेताहरूलाई बधाई दिने शैलीले फुटबल समर्थकलाई निराश बनाएको छ।
अब प्रश्न रहन्छ– एन्फा वास्तवमै नेपाली फुटबललाई अगाडि बढाउने संस्थागत सुधारको बाटोमा छ कि फेसबुक पोस्टमार्फत राजनीतिक सम्बन्ध सुदृढ गर्न तल्लिन?







-1762856022963.jpg&w=3840&q=75)





