बेंगलुरु एफसीले खेलाडी र कर्मचारीको तलब रोक्यो

काठमाडौं। इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरु एफसीले खेलाडी र कर्मचारीको तलब रोक्ने निर्णय गरेको छ। क्लबले यो कदम लिगको भविष्यप्रति बढ्दो अनिश्चितताका कारण उठाएको जनाएको छ।
२०१८–१९ को आइएसएल उपाधि जितेको बेंगलुरुले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘इन्डियन सुपर लिग सिजनको भविष्यको विषयमा स्पष्टता नहुँदा हामीलाई यस्तो निर्णय गर्न बाध्य बनायो।’
क्लबले थपेको छ,‘भारतमा एक फुटबल क्लब सञ्चालन गर्नु सधैं चुनौतीपूर्ण काम रहँदै आएको छ। वर्षेनी हामीले सबै कुरा थाती राखेर यो यात्रा निरन्तर दिँदै आएका थियौं। तर, अहिले लिगको भविष्यबारे अस्पष्टताले हामीलाई अर्को विकल्प नै दिएन।’
आइएसएल हालका लागि स्थगित गरिएको छ। अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) र रिलायन्सको नेतृत्वमा रहेको फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडीएल) बीचको व्यावसायिक सम्झौता नवीकरणका लागि भएको वार्ता रोकिएको छ।
यो वार्ता सन् २०१० को सम्झौता नवीकरण गर्ने सन्दर्भमा भइरहेको थियो। तर, भारतको सर्वोच्च अदालतले एआइएफएफलाई नयाँ संविधान लागूसम्बन्धी एक अलग मुद्दा टुंगो नलागेसम्म एफएसडीएलसँग सम्झौता नगर्न भनेपछि प्रक्रिया रोकिएको हो।
बेंगलुरुले भनेको छ,‘हाम्रा खेलाडी, कर्मचारी र उनीहरूका परिवारको भविष्य हाम्रो प्राथमिकता हो। हामी उनीहरूसँग निरन्तर सम्पर्कमा छौं। यो संकट चाँडै समाधान गर्न हामी एआइएफएफ र एफएसडीएललाई आग्रह गर्छौं।’
भारतीय सञ्चारमाध्यमका अनुसार आठवटा आइएसएल क्लबले यो साता एआइएफएफसँग लिगको भविष्यबारे छलफल गर्ने तयारी गरेका छन्। भारतका सर्वाधिक गोलकर्ता सुनील क्षेत्री आबद्ध बेंगलुरुले भने आफ्ना युथ टिमको गतिविधि र तलबप्रणाली भने यथावत् रहने स्पष्ट पारेको छ।







-1762856022963.jpg&w=3840&q=75)





