काठमाडौं। सातदोबाटोको जस्तो सधैं जाम हुने चोक छैन। नत धेरै चहलपहल हुने दशरथ रंगशालाको जस्तै माहौल छ। तर, यामप्रसाद गुरुङको लागि यो भुटानपनि ‘नेपाल’ जस्तै लागिरहेको छ।
‘मलाई यहाँ बस्दा नेपालमै छु जस्तो लाग्छ,’ गुरुङले मुस्कुराउँदै भने, ‘मिडिया होस् या समर्थक, अनुहार हेर्दा आफ्नै देशको जस्तो अनुभूति हुन्छ।’
नेपाल यु–२० महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक गुरुङ अहिले एएफसी यु–२० महिला एसियन कप छनोट खेल्न टोली लिएर भुटान पुगेका छन्। यो टोलीले सपना बोकेको छ, लक्ष्य बोकेको छ।
र, सबैभन्दा ठूलो कुरा पहिलोपल्ट एसियन कप खेल्ने विश्वास बोकेको छ। ‘हामी यसपल्ट छनोट हुँदै खुसी दिन आएका हौं। नेपाली दर्शक निकै भावुक र डाइहार्ट छन्। सानो कुरा पनि उनीहरूलाई चसक्क लाग्न सक्छ। त्यसैले हामीले उनीहरूलाई खुसी बनाउने लक्ष्य लिएका छौं,’ उनले निर्धक्क साथ भने।
थाइल्यान्डमा अर्को वर्ष हुने यु–२० महिला एसियन कपका लागि समूह ‘ए’ मा नेपालसँगै साबिक विजेता उत्तर कोरिया, साउदी अरब र भुटान छन्।
भुटान र साउदी अरबविरुद्ध नेपालको अघिल्लो प्रदर्शनले आशा बढाएको छ। बंगलादेशमा सम्पन्न यु–२० साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुईपटक (६–१ र ८–०) फराकिलो अन्तरले हराइसकेको छ।
अर्कोतर्फ साउदी अरबको महिला यु–२० टोली अझै निर्माणकै चरणमा छ र भुटानभन्दा कमजोर मानिन्छ। यो टोलीलाई भुटानले बंगलादेश जानुअघि नै फराकिलो अन्तरले हराएको थियो। तर, चुनौतिको एउटा विशाल पहाड भने अझै अगाडि छ–उत्तर कोरिया। उत्तर कोरिया दुईपल्टको एसियन कप विजेता हो।
महिला फुटबलमा उनीहरूको दबदबा विश्वमै मानिन्छ। जापानजस्तो टोलीलाई पनि एकैवर्ष दुईपल्ट पराजित गर्दै एसियन कप र विश्वकप जितेको एक वर्ष पनि पुगेको छैन। तर, प्रशिक्षक गुरुङ यो तथ्यबाट डराइरहेका छैनन्। उनी आफ्नो रणनीति र खेलाडीहरूमा ढुक्क छन्।
‘हामी हरेक टिमलाई सम्मान गर्छौं, तर डराउँदैनौं। आफ्नो खेल खेल्ने हो। म आफ्ना खेलाडीप्रति पूर्ण विश्वास गर्छु,’ उनी भन्छन्। नेपालले बंगलादेशबाट फर्किनेबित्तिकै क्याम्प राखेको थियो।
उक्त प्रतियोगितामा श्रीलंका र भुटानलाई समान १४ गोलको भारी बोकाए पनि बंगलादेशसँग दुवै खेलमा पराजित हुन पुग्यो।
पहिलो खेलमा बंगलादेशसँग ३–२ र अन्तिम खेलमा ४–० ले पराजित भएसँगै नेपाल उपविजेतामा खुम्चियो। त्यो हारको पीडा नभुल्दै करिब १२ दिनको तयारीले नेपाली टोलीको आत्मविश्वास बढाएको छ। त्यही क्याम्पमा कमजोरी खोजियो, सच्याइयो र रणनीति निखारिएको गुरुङ दाबी गर्छन्।
उनी भन्छन्,‘हामीले भर्खरै सकिएको क्याम्पबाट धेरै कुरा सुधार गरेका छौं। अहिलेको क्याम्प एकदम राम्रो भयो। म ढुक्क छु, हामी योग्य ठहरिन्छौं।’
भुटानको राजधानी थिम्पुमा अहिले नेपाली भावना गुञ्जिरहेको छ। मैदानमा अभ्यास गर्दै गर्दा दर्शकको उत्साह, मिडिया संवाद र स्वागतले गुरुङलाई घरेलु मैदानकै अनुभूति दिएको छ।
‘मिडिया होस् या समर्थक अनुहार हेर्दा आफ्नै देशको जस्तो अनुभूति हुन्छ। मलाई लाग्छ, म नेपालमै छु,’ उनी फेरि भन्छन्।
फुटबलको मैदानमा हरेक गोलले सपना बोक्छ। छनोट चरण पार गर्नु भनेको टिकट मात्र हैन, नेपाली महिला फुटबलको भविष्य कोर्नु पनि हो।
प्रशिक्षक गुरुङका आँखामा अहिले त्यही भविष्य झल्किरहेको छ। थिम्पुको हावामा र टोलीको अनुहारमा उनले थाइल्यान्ड पुग्ने सपना देखिरहेका छन्।
‘हामी क्वालिफाइ गर्नै आएको हौं,’ अन्त्यमा उनी भन्छन्, ‘हामी सफल हुनेछौं भन्नेमा मलाई विश्वास छ।’