युभेन्ट्सले नेयमारलाई लैजाला?

काठमाडौं। ब्राजिलियन डिफेन्डर ग्लीसन ब्रेमरले आफ्नो देशका स्टार खेलाडी नेयमारलाई युभेन्ट्समा भित्र्याउन आग्रह गरेका छन्।
साउदी क्लब अल–हिलालमा समय कठिन बिताएपछि नेयमार हाल आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका छन्। उनले सुरुमा युरोप फर्किने उद्देश्यसहित सान्तोससँग ६ महिनाको सम्झौता गरेका थिए। तर, पछि उनले ब्राजिलियन सिजनको अन्त्यसम्म सम्झौता बढाएका थिए।
हालका घटनाक्रम अनुसार सान्तोससँगको सम्बन्ध फेरि बिग्रँदै गएको देखिन्छ र ३३ वर्षीय नेयमारले अब चाँडै नै क्लब छाड्ने चर्चा सुरु भएको छ। फ्रेन्च क्लब मार्सेलीसँग उनको नाम जोडिएको थियो। तर, क्लब स्रोतहरूले ती हल्लालाई पूर्णतः गलत भन्दै नकारेका छन्।
यसैबीच युभेन्ट्सका स्टार डिफेन्डर ब्रेमरले नेयमारलाई क्लबमा ल्याउन सकिने सम्भावनामा खुलेर समर्थन जनाएका छन्। उनले भने, ‘पक्कै पनि! नेयमारजस्तो खेलाडी युभेन्ट्समा हुनु निकै राम्रो कुरा हुनेछ।’
उनको यस टिप्पणीपछि इटालियन सञ्चारमाध्यमहरूले नेयमारको सम्भावित आगमनबारे अड्कल काट्न थालेका छन्। यो सन्दर्भमा युभेन्ट्सले सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोलाई ल्याएको प्रसङ्ग पनि उल्लेख गरिएको छ।
संयोगवश नेयमार र रोनाल्डो दुवैको जन्मदिन एउटै मितिमा परेको छ। युभेन्ट्स आएका बेला रोनाल्डोको उमेर पनि ३३ वर्ष नै थियो। तर, यथार्थमा नेयमारको युभेन्ट्स आगमन अहिले क्लबले गम्भीर रूपमा विचार गरिरहेको छैन।
उनको हस्तान्तरण सम्भव भए पनि यसका लागि प्रायोजकहरूको सहयोग आवश्यक पर्ने देखिन्छ। यद्यपि, नेयमारलाई च्याम्पियन्स लिगमा फर्काउने सम्भावनाले युरोपका क्लबहरूमा अझै चासो कायम राखेको छ।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)