अञ्जन आबद्ध कश्मीरको रोमाञ्चक जित

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसीले १३४औं डुरान कपअन्तर्गत समूह 'एफ' को खेलमा ट्राउ एफसीलाई २–१ ले पराजित गरेको छ।
खुमन लम्पाक रंगशालामा २० हजार दर्शकमाझ भएको खेलमा रियल कश्मीरका रोहेन सिंहले ६४औं मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरबाट हानेको गोल निर्णायक बन्यो।
खेलको २४औं मिनेटमा रोहेनकै पासबाट मरात तारेकले रियल कश्मीरलाई अग्रता दिलाएका थिए। तर, एक मिनेटमै ट्राउका अफ्रिदी बुइमायुमले बराबरी गोल फर्काए। दोस्रो हाफमा रोहेनको गोलले फेरि कश्मीरलाई अग्रता दिलायो।
७७औं मिनेटमा ट्राउका कप्तान शितलजित अटोम दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए। खेलको अन्त्यसम्म १० खेलाडीमा सीमित ट्राउले बराबरी गोल खोज्ने प्रयास गरे पनि कश्मीरको डिफेन्डडरले रोके।
रियल कश्मीरले अब अगस्ट १० मा नेरोकासँग भिड्नेछ भने ट्राउले अगस्ट १२ मा इन्डियन नेभी एफसीको सामना गर्नेछ।







-1762856022963.jpg&w=3840&q=75)





