काठमाडौं। खेलकर्मी तथा समाजसेवी सुरेश हमालको असामयिक निधन भएको छ।
हमालको ५२ वर्षको उमेरमा भारतमा उपचारको क्रममा बुधबार निधन भएको हो।
सूदुरपश्चिम स्पोर्ट्स क्लबका अध्यक्ष समेत रहेका हमालले नेपालमा सर्वाधिक पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता खप्तड गोल्डकप सञ्चालन गर्दै आएका थिए।
सुदूरपश्चिम क्षेत्रको फुटबलमा सक्रिय रहेका हमालले स्थानीयस्तरमा खेलाडी उत्पादनदेखि खेलकुद कार्यक्रममा महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएका थिए।
पछिल्लो समय मृगौलाको उपचार गराउँदै आएका हमाल विगत २ महिनादेखि भारतमा उपचार गराइरहेका थिए।
सुदूरपश्चिम क्षेत्रबाट फुटबल खेलाडी उत्पादनमा हमालको विशेष योगदान छ। उनले क्लबबाट उत्पादन गरेका खेलाडीहरूले नेपालको राष्ट्रिय फुटबल टिमसम्म स्थान बनाएका छन्।