काठमाडौं। सन् २०२६ मा आयोजना हुने एएफसी यु–१७ एसियन कप फुटबल प्रतियोगिताको छनोटका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले सहभागी टोलीहरूको सिडिङ सार्वजनिक गरेको छ।
सार्वजनिक सिडिङअनुसार नेपाल पाँचौं समूह अर्थात् ‘पट ५’ मा परेको छ। नेपालसँगै सोही पटमा लेबनान, भुटान, टिमोर लिस्टे, गुआम, माल्दिभ्स र नर्दन मारियाना आइसल्यान्ड्स छन्। यो पटको खेल भुटानले खेलाउने छ।
एएफसीले आगामी अगस्ट ७, २०२५ मा मलेसियाको क्वालालम्पुरस्थित मुख्यालयमा ‘ड्र’ सार्वजनिक गर्ने जनाएको छ। समूह चरणको प्रतियोगिता भने सन् २०२५ नोभेम्बर २२ देखि ३० सम्म सञ्चालन हुने तय भएको छ।
कुल ३८ राष्ट्र सहभागी हुने छनोट चरणमा टोलीहरूलाई सात समूहमा विभाजन गरिनेछ। तीमध्ये तीन समूहमा ६/६ र बाँकी चार समूहमा ५/५ टिम रहनेछन्।
प्रत्येक समूहका विजेता टोली सन् २०२६ को एएफसी यु–१७ एसियन कपमा छनोट हुनेछन्। छनोट भएका यी टोलीले सन् २०२५ मा सम्पन्न यु–१७ एसियन कप क्वार्टरफाइनलमा पुगेका ९ टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
ती टोलीमा कतार, साउदी अरब, उज्बेकिस्तान, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, युएई, उत्तर कोरिया र ताजिकिस्तान हुन्।
नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गर्न सकेमा मुख्य प्रतियोगितामा स्थान बनाउनेछ।
तर, यसका लागि भारत, इरान, थाइल्यान्डजस्ता बलिया टिमसँग पनि खेल्ने सम्भावना छ। त्यसैले सहज भने हुनेछैन।