काठमाडौं। विश्व कप छनोट दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।
प्रतियोगिता साउन १४ र १५ गते काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुन लागेको हो।
एसियन टेबलटेनिस युनियन (एटीटीयु) को वार्षिक कार्यक्रमअन्तर्गत अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुन लागेको प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल गरी ५ देशका खेलाडी तथा अफिसियलहरू सहभागी हुनेछन्।
प्रतियोगितामा भारतबाट १० जना खेलाडी र ३ जना अफिसियल, श्रीलंकाबाट ८ जना खेलाडी र २ जना अफिसियल, बंगलादेशबाट ८ जना खेलाडी र ३ जना अफिसियल, माल्दिभ्सबाट ८ जना खेलाडी र ३ जना अफिसियल तथा आयोजक नेपालबाट ८ जना खेलाडी र ५ जना अफिसियल सहभागी हुनेछन्।
प्रतियोगितामा कुल ५८ जना खेलाडी र अफिसियलको सहभागिता रहनेछ।
दुईदिने प्रतियोगितामा पुरुष टिम र महिला टिम विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताबाट विजयी हुने टिमले सन् २०२६ मा हुने विश्व टिम्स टेवल टेनिस च्याम्पियनसिपमा स्थान बनाउने छन्।